• काठमाडौं : गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ । सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको हो ।

    शुक्रबार मात्रै बयान र थुनछेक हुने भएपछि उनलाई प्रहरी वृत्त थिमीको हिरासतमा राखिएको छ । २०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप छ ।

    त्यसबेला सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो । हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।

    साउन १५ मा जन्मदिन मनाउँदा महाराजगञ्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे काठमाडौं जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए । उनलाई काठमाडौँ प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

    गोर्खा सिमजुङ घर भएका चक्रे २०५० सालदेखी गुण्डागर्दीमा छन् । पछिल्लो समय उनी २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाट पक्राउ परेर छुटेका थिए ।