• काठमाडौं : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका काभ्रेपलाञ्चोकको चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।

    एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज मङ्गलवार नेपाल फिर्ता ल्याइएको छ ।

    लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।

    अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्द ‘रेड नोटिस जारी भएको थियो ।