• काठमाडौं : पर्वतको तमादी खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ वर्षका गोपालप्रसाद बस्याल रहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय खुल्न सकेको छैन । उनीहरुको खोजी भैरहेको छ ।

    कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा हिजो बेलुका एक्कासी आएको बाढीले ग १ ज ६२१३ नम्बरको जीप बगाएको थियो । बगाएको जीपका केही पार्टपुर्जा कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा फेला परेका छन् ।

    जीप बाग्लुङबाट पोखराका लागि छुटेको थियो । जीपमा चालकसहित चार जना थिए । खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीपका चालक वसन्त थापा झरेका कारण ज्यान जोगिएको छ ।