• काठमाडौं : सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ ।

    आज मङ्गलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले यो कुराको जानकारी गएका हुन् । उनले सुगम जिल्लाहरूमा ४४ हजार छ सय ८२ क्विन्टल र दुर्गम जिल्लाहरूमा १४ हजार चार सय ८२ क्विन्टल चामल मौज्दात रहेको बताए । त्यस्तै बोलपत्र माध्यमबाट खुला बजारमा प्राप्त भइरहेको चामल ७२ हजार छ सय ८४ क्विन्टल गरी जम्मा एक लाख ३१ हजार आठ सय ४९ क्विन्टल चामल मौज्दात रहेको उनले उल्लेख गरे । त्यसैगरी चार हजार छ सय ३२ क्विन्टल धान, भारतबाट आयात कोटाअन्तर्गत प्राप्त हुने ३४ हजार तीन सय २० क्विन्टल गहुँ गरी कुल एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग मौज्दात रहेको उनले बताए ।

    मौज्दात रहेको खाद्यान्नबाट तीन महिनासम्मको आवश्यकताको परिपूर्ति हुने मन्त्रालयका सचिव मरासिनीले जानकारी दिए । उनले भारतीय सरकारसँग १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी नेपाल सरकारले आयात गर्नका लागि उपलब्ध गराउन पत्राचार गरिएको र छिट्टै नै ती वस्तुहरू पाइने बताए ।

    बैठकमा मरासिनीले सरकारले आर्थिक वर्ष २०८०र८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी गराए । उनले ‘रैथानेमा गर्व गरौँ’ कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका सात पालिकासँग रैथाने बाली खरिदका लागि सम्झौता गरिएको बताए । हुम्लाको सर्केगाड, अदानचुली र सिमकोट गाउँपालिकाबाट अहिलेसम्म कागुनो एक हजार दुई सय ६३ केजी, चिनो दुई हजार दुई सय २३ केजी, फापर एक हजार नौ सय पाँच केजी र सिमी एक हजार ८८ केजी खरिद गरी बिक्री भइरहेको पनि जानकारी गराइएको छ ।

    सचिव मरासिनीले कर्णाली प्रदेशका कालीकोट, हुम्ला, जुम्ला, मुगु र डोल्पामा शिशु जन्मँदा मातृ पोषणका लागि र मृत्यु संस्कारमा सामाजिक संस्कार पूरा गर्न ७० लाख चार हजार एक सय ८० बराबरको ६२ दशमलव १० मेट्रिक टन खाद्यान्न निःशुल्क वितरण गरिएको पनि बताए ।

    नेपाल आयल निगम लिमिटेडको ६९ हजार एक सय ९२ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात क्षमता रहेकोमा अहिले ५१ हजार पाँच सय ५७ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको जानकारी गराइएको छ । यसबाट डिजल आठ दिन, पेट्रोल पाँच दिन र हवाई इन्धन १३ दिनलाई धान्न सक्ने अवस्थामा रहेको सचिव मरासिनीले बताए । त्यसैगरी खाना पकाउने एलपी ग्यास निजी क्षेत्रको भण्डारण क्षमताले झन्डै सात दिनलाई पुग्ने अवस्था रहेको उनले बताए ।

    उनले बजार अनुगमनका लागि असोज १ गतेदेखि दैनिक १० वटा टोलीलाई बजारमा पठाइने पनि बताए । बजार अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकालाई पनि अनुमति दिइएको उनको भनाइ छ ।