• काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्भव भएको बताएका छन् ।

    आज मङ्गलवार भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले देशमा लोडशेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताए ।

    उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लोडशेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न निर्देशन भएको छ । प्रचण्डको सहभागितामा ऊर्जा क्षेत्रको आजको अवस्थामा आएका छौँ ।’

    घिसिङले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताए ।

    उनले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको जनाउँदै अहिले सयौँ सबस्टेशन र विद्युत् उत्पादन परियोजनाहरू बनिरहेको बताए । उनले अब केही समयमा धेरै सबस्टेशन र हाइड्रोपावर उद्घाटन हुने क्रममा रहेको जानकारी पनि दिए ।