• पछिल्लो समय अनलाइनमार्फत् एउटा सामान देखाएर घरमा अर्को कमसल सामान पठाउने र पैसा पाएपछि अनलाइन पेज नै बन्द गर्ने वा ब्लक गर्नेजस्ता घटनाका उजुरी पनि प्रहरीमा प्रसस्त पुग्ने गरेका छन् । त्यसबाहेक चिट्ठा पर्‍यो भनेर प्रलोभनमा पार्ने र विभिन्न चरणका प्रक्रिया पूरा गर्न भन्दै रकम लिएर सम्पर्कविहीन भएका घटना प्रहरीमा दर्ता छन् । भेटै नभएको मानिसलाई च्याटको भरमा ९३ लाख रुपैयाँसम्म पठाउने कार्य भएको छ ।

    नेपाल प्रहरीको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७८र७९ मा साइबर अपराधमा ४ हजार ६ सय ८६ जनाले निवेदन दिएका थिए । तीमध्ये प्रहरीले १३२ वटा मुद्दा दर्ता गरेको थियो ।

    गत वर्ष यस्ता घटनाका उजुरी झण्डै दोब्बरले बढेर ९ हजार १३ वटा निवेदन परेका थिए । ब्यूरोले १२७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

    ब्यूरोले ६ हजार २५६ वटा निवेदन आफैं फर्छ्यौट गरेको छ भने २ हजार ७ सय ५७ वटाको अनुसन्धान गरिरहेको छ । अनलाइनबाट आर्थिक ठगी गर्नेदेखि फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक जस्ता विभिन्न सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम र तस्बिर प्रयोग गरी अश्लील सामग्री राखेर फिरौती उठाउनेसम्मका घटना बर्सेनि दुई गुणाले बढेको प्रहरीको तथ्यांक छ । नेपाल प्रहरीको साइबर ब्यूरोमा यो महिना मात्र साइबर अपराधका १२ सयभन्दा बढी उजुरी परेका छन् ।

    दिनदिनै साइबर अपराधका घटना बढे पनि कारबाहीका लागि पर्याप्त कानुन छैन । अहिले विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुँदै आएको छ ।

    इन्टरनेटका माध्यमबाट हुने अपराध अर्थात् साइबर अपराध बढेपछि त्यसलाई रोक्न सरकारले नयाँ कानुन निर्माणको तयारी थालेको छ । यसका लागि मन्त्रिपरिषद्ले नीतिसमेत पारित गरिसकेको छ ।

    अब नयाँ कानुन बनाउन सरकारले साइबर सुरक्षा नीति ल्याएको हो । यो नीतिसँगै सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, अश्लीलता फैलाउने जस्ता सामग्रीलाई निषेध गर्ने गरी कानुन बनाउने बाटो खुल्ने प्रहरीको दाबी छ ।

    सप्तरीका एक युवक बिहीबार आफ्नो फोटो र नाम दुरुपयोग गरी सामाजिक सञ्जालबाट आफ्नै साथीलाई कसैले ठगी गरेको भन्दै उजुरी गर्न नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी पुगे । उनको गुनासो छ, ‘मेरो फोटो हालेर नयाँ फेसबुक आईडीबाट साथीहरुसँग पैसा मागेछ, एकपल्ट पैसा हालेपछि साथीले फोन गर्दा बल्ल थाहा भयो ।’

    अर्की एक महिला पनि अनलाइनबाटै भेटेर प्रेमी बनेका व्यक्तिले पछि सम्बन्ध बिग्रिएपछि आफ्नो अनुहारमा अरुकै नग्न शरीर जोडेर अश्लील तस्बिर देखाउँदै ब्लाकमेल गरेको गुनासो गर्न प्रहरीकोमा पुगिन् । अहिले दैनिक १ सय ५० जनासम्म अनलाइनका माध्यमबाट आफूमाथि दुर्व्यवहार तथा ठगी भएको यस्ता उजुरी लिएर साइबर ब्यूरो पुग्ने गरेका छन् ।

    फेसबुक, भाइबर, युट्युब, टिकटक, इन्टाग्रामलगायत सामाजिक सञ्जालको दुरुपयोग गरी गाली बेइज्जती गर्ने तथा सम्पूर्ण सूचना नियन्त्रणमा लिएर फिरौती माग्नेसम्मका घटना पछिल्लो समय निकै बढेको प्रहरीले जनाएको छ ।