• हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन् । उनीहरुले वडाध्यक्ष र सदस्य चुनेका हुन् । अब आउँदो वैशाख ३० गते हुने चुनावमा उनीहरुले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् ।

    हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३० गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् ।

    ‘लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति–नियम छ । यो कुनै नौलो कुरा भएन यसअघि पनि यस्तो भएको थियो’ नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताए । उनकाअनुसार आफ्नो गाउँठाउँका लागि स्थानीय बासिन्दा आफैँले जनप्रतिनिधि चयन गर्ने गरेका छन् ।

    ‘यो पहिलेदेखि नै चलिआएको रीति रिवाज हो’ उनले भने । लिमीका स्थानीय बासिन्दा महत्त्वपूर्ण निर्णय लिन कात्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता बैठक बस्छन् । त्यही अनुसार गएको मंसिर ३० गते बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको हो ।

    वडा अध्यक्षमा उनीहरुले पाल्जोर तामाङलाई नै दोहोर्याएका छन् । वडा सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । वडा अध्यक्षमा दोहोरिएका पाल्जोर तामाङ गाउँमा खाद्यान्न अभाव भएपछि सिंहदरबार गुहार्दै गएको मंसिरमा काठमाण्डौ आएका थिए ।

    पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ मंसिर ७ गते काठमाण्डौ आएका थिए । उनकै पहलमा गाउँमा चामल पुगेको थियो । आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ ।