• जेनेभा । नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

    डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए ।

    कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिएका छन् । नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् ।

    उनले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गरेका छन् । “डब्लुएचओले सवै अवस्थालाई गम्भीरतापूर्वक नियालीरहेको छ,” निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ । नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ । एजेन्सी