• काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसरी थपिनेमा काठमाडौंमा ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना छन् । हिजो सोमबारमात्र उपत्यकामा ८ सय १७ जना संक्रमित भएका थिए ।

    मन्त्रालयको नियमित कोभिड–१९ पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार उपत्यकामा थपिएको संख्यासँग मुलुकभरबाट १ हजार ५ सय १३ जनामा संक्रमण देखिएको बताए । उनका अनुसार यस अवधिमा ७ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । यीसँगै अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ । त्यसमध्ये अहिले सक्रिय संक्रमितको संख्या २० हजार ३९६ जना पुगेको सो अवसरमा प्रवक्ता गौतमले जानकारी दिए ।

    त्यसैगरी २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४ सय ९१ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।