• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको बिहीबारको कोभिड–१९ मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट ११ हजार ४ सय ४९ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । उनका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

    २४ घण्टाको अवधिमा ४ सय ५७ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कुल संक्रमितमध्ये ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएको सो अवसरमा प्रवक्ता गौतमले जनाए । यो हालसम्म निको हुनेको यो संख्या ७२ दशमलव ७ प्रतिशत हो । उनका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ६१४ र होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । हाल २२३ जनाको आईसीयूमा र २८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि प्रवक्ता गौतमले बताए ।

    त्यसैगरी थप १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो एकै दिन मृत्यु पुष्टि भएको अहिलेसम्मकै धेरै संख्या हो । यसरी नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४५३ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा अहिले ६ हजार ५६५ जना रहेका छन् । अहिलेसम्म नेपालमा ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।