• काठमाडौं । शनिबार नेपालमा १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये पुरुषको ७९६ छ भने ४०८ जना महिला छन् । मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ३३३ वटा नमूनाको परीक्षण हुँदा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसहित अहिलेसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

    २४ घण्टाको अवधिमा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । यसरी कोरोनामुक्त हुनेको संख्या हालसम्म ४५ हजार २६७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या १७ हजार १२९ जना पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १५३ र होम आइसोलेसनमा ७ हजार ९४८ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । मृतकहरु ७ महिला र ४ जना पुरुष छन् । मृतक महिलामा काठमाडौँका ७७ र ३७ वर्षीया, ललितपुरका ७६ र ६८ वर्षीया, मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय र सर्लाहीकी ५६ वर्षीया छन् । त्यस्तै पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् । यीसहित कोरोनाकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या संख्या ४०१ पुगेको छ । यो कोरोनाबाट मृत्यु हुने दर ०.६४ प्रतिशत हो ।