• काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबारको कोभिड–१९ अपडेट मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टा उक्त संख्यामा नयाँ संक्रमित थपिएको बताएका हुन् । उनका अनुसार यीसँगै संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ । यस अवधिमा १० हजार ४ सय ९४ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।

    प्रवक्ता डा. गौतमका अनुसार आज थपिने नयाँ संक्रमितमा उपत्यकामा मात्रै ७ सय ३७ जनामा रहेका छन् । जसमा काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित भएका हुन् ।

    मन्त्रालयका अनुसार २४ घण्टामा थप १ हजार ६८ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कुल संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना निको भएका छन् । यो निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत हो । त्यसैगरी अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना पुगेको छ । जसमध्ये होम आइसोलेसनमा सात हजार ७०१ र संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ७ हजार ८२० जना पुगेको छ ।

    कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको मन्त्रालयका तथ्यांकमा उल्लेख गरिएको छ ।