• काठमाडौं । उपत्यकामा शनिबार ४ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जना संक्रमित थपिएका हुन् । भदौ २६ गते शुक्रबार उपत्यकाका तीनै जिल्लामा गरी ६ सय ९६ जनामा संक्रमण देखिएको थियो ।

    त्यसैगरी उपत्यकासहित मुलुकभरबाट १ हजार २०२ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार यसरी अहिलेसम्म नेपालका कोरोना संक्रमितको कुल संख्या ५३ हजार १२० पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ३७ हजार ५२४ जना कोरोनामुक्त भएका छन् । यो निको हुनेको दर ७० दशमलव ६ प्रतिशत हो ।

    मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार एकैदिनमा थप १४ जनाको मृत्यु भएको छ । यीसँगै अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३३६ जना पुगेको छ । त्यस्तै सक्रिय संक्रमित १५ हजार २६० जनाको उपचार भइरहेको मन्त्रालयले बताएको छ ।