• काठमाडौं — पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै एकैदिन ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबारको कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार १४४ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा उपत्यकाबाट उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंका ४९५ , ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण भएको हो ।

    बिहीबार उपत्यकासहित मुलुकभरबाट १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । यीसहित कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । उनका अनुसार कुल संक्रमितमध्ये अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसरी नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३१७ जना पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।