• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । विगत २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    प्रवक्ता गौतमका अनुसार यसै अवधिमा १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् । यीसँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ । त्यस्तै कुल संक्रमितमध्ये हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३१७ जना पुगेको छ । विगत २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    त्यसैगरी नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार जसमध्ये होम आइसोलेसनमा ६ हजार ४३८ छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जनाको उपचार भइरहेको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८ सय ६ जना पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको थियो । यसरी नेपालमा अहिलेसम्म ८ लाख १० हजार ४८५ वटा नमूनाको पीसीआर परीक्षण भएको छ ।