• भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

    आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयु तयारी अवस्थामा राखेको उनले जानकारी दिए । अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उनले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको जानकारी दिए । राबोटमार्फत सेवा दिने यो नेपाल कै पहिलो अस्पताल हुने जानकारी दिँदै उनले नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने बताए ।

    नगरपालिकाले आफ्नै पिसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ । भदौ महिनाको २४ गतेसम्ममा दुई हजार ११२ को परीक्षण गरेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले हालसम्म ३२७ जनालाई सङ्क्रमण भएको, ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १७१ जना होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।