• तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ मा शुक्लागण्डकी कागज कारखाना छ । उक्त नेपाली कागज कारखानाका प्रोप्राइटर छन्ः सन्तोषराज सिग्देल । पोखरा युनिभर्सिटीमा बीबीए अध्ययन गर्दै गर्दा युवा सन्तोषको मनमा स्वदेशकै कच्चापदार्थ प्रयोग गरेर, स्वदेशकै श्रमशक्तिको सदुपयोग गरेर, स्वदेशमा नै उद्योग खोल्ने र आर्थिक उन्नति गर्ने हुटहुटी जाग्यो । बुवा गाउँमा नाम चलेकै व्यक्तित्व, बीबीए पढ्दै गरेको छोराको यो प्रस्ताव बुवालाई सुरुमा त्यति मन परेन किनकि, छोरो धेरै पढेर ठूलो पदमा जागिर गरोस् भन्ने बुवाको चाहना थियो । तर, सन्तोषलाई जागिर गर्ने मन नै थिएन । त्यसपछि वि.सं. २०७२ मा सन्तोषले नेपाली कागजको उत्पादन गर्ने विचारले शुक्लागण्डकी कागज कारखानाको स्थापना गरे । यसमा प्रयोग हुने कुनै पनि कच्चापदार्थको लागि विदेशको मुख ताक्नु पर्दैन, उत्पादित कागज विदेश पठाउन सकिन्छ । स्वदेशकै वनमा पाइने अर्गेलीका बोक्रा, बाबियो र लोक्ता यति जुटाएपछि नेपाली कागज बन्छ । उत्पादित कागज नेपालका सरकारी कार्यालयहरु, बैंकिङ कार्यालय आदिमा प्रयोग हुन्छ । तनहुँमा उत्पादित नेपाली कागजले नेपालमा खपत हुने १० प्रतिशत कागज धान्ने गरेको बताउँछन् सन्तोष । शुक्लागण्डकी कागज कारखानाले २८ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । फेरि अर्को यसको विशेषता भनेको श्रीमान्÷श्रीमती दुवैले यसमा प्रत्यक्ष रोजगारी पाउँछन् र राम्रो आम्दानी गर्न सक्छन् । वास्तवमा सन्तोष सिग्देलको लगनशीलता, लगानी र मेहनतपछिको प्रतिफल देख्दा पौरखीलाई विदेशभन्दा स्वेदश नै ठीक हो भन्ने जो कोहीलाई लाग्छ । स्वदेशी उद्योगको वर्तमान अवस्था र भविष्यका बारे शुक्लागण्डकी कागज कारखानाका प्रोप्राइटर सन्तोषराज सिग्देलसँग जनप्रशासनका लागि केदार आचार्यले गरेको कुराकानीको सारः

    नेपाली कागज कारखानाको लागि मजदुरको समस्या पर्छ भन्ने सुन्नमा आउँछ के नेपालीले यस्तोमा काम गर्न मन नगर्ने हुन् र ?

    त्यस्तो होइन । जतिबेला विश्वका हरेक ठाउँ नेपालीका लागि सहज थिए, त्यतिबेला कागज उत्पादनको लागि मजदुर अभाव हुन्छ कि जस्तो भएको हो । तर अब त्यो समस्या रहन्न । कारण, अहिले त विदेश गएका नेपालीहरु स्वदेश फर्किरहेका छन्, भारतबाट मात्र लाखौंलाख नेपाली स्वदेश फर्किए । अब तत्कालै तेस्रो मुलुक वा भारत नै भनौं नेपालीहरु रोजगारीका लागि फर्किहाल्ने अवस्था छैन । त्यो अवस्थामा नेपालीले सानोतिनो काम नै किन नहोस् स्वदेशमा नै गर्नुपर्नेहुन्छ । नेपालीले नेपालमै रोजगारी खोज्नुपर्ने अवस्थाले गर्दा अब नेपाली उद्योगमा खासै समस्या हुँदैन बरु रोजगारीको समस्या होला, तर उद्योग–व्यवसाय गर्नेलाई कामदारको अभावचाहिँ हुन्छ जस्तो लाग्दैन ।

    यो लामो समयको लकडाउनमा कागज कारखानाहरु बन्द नै त होलान् ?

    बन्द छैनन् । अन्य उद्योग, कलकारखाना बन्द भए पनि नेपाली कागज उद्योगलाई यो लकडाउनले केही पनि असर गरेन र गर्दैन । किनकि, नेपाली कागज बन्नलाई कुनै पनि कुरा विदेशबाट आयात गर्नु पर्दैन । हाम्रो वनपाखामा पाइने अर्गेलीका बोक्रा, बाबियो, लोक्ता र विराटनगरको करिडोरबाट उत्पादन हुने ब्लिचिङ पाउडर र कास्टिक सोडा भएपछि नेपाली कागज बन्छ । तर यो लकडाउनका कारण कार्यालयहरु बन्द रहेकाले हाम्रो उत्पादनचाहिँ स्टक रहेको छ ।

    नेपाली कागजको उत्पादन नेपालबाहेक अन्य देशमा पनि जान्छ कि, स्वदेशमा मात्रै खपत हुने हो ?

    नेपालका अलावा नेपाली कागज जापान, चीनको तिब्बत र बंगलादेशमा जान्छ । तिब्बतमा धर्मगुरुहरुले धर्मग्रन्थहरु लेख्न नेपाली कागजको प्रयोग गर्छन् । किनकि, नेपाली कागजमा लेखिएका अक्षरहरु पचासौं वर्षसम्म पनि जस्ताको त्यस्तै रहन्छन् । बंगलादेशीहरुले आर्ट या पेन्टिङको लागि नेपाली कागज लैजान्छन् र जापानमा त यसको कच्चापदार्थ नै जान्छ र ‘जापानी ऐन’ नै नेपाली कागजमा बन्छ ।

    पहिलाको तुलनामा नेपाली कागजको गुणस्तरमा पनि परिवर्तन आएको हो ?

    नेपाली कागजको प्रचलन सत्रौं शताब्दीदेखि हुँदै आएको हो । हो । पहिलापहिला नेपाली कागजमा हातले लेख्ने चलन थियो । अहिले कम्प्युटर प्रिन्ट र अफसेट मेसिनहरुले छाप्ने चलन समेत आएको हुनाले यसको गुणस्तरमा परिवर्तन गरिएको हो । तर जुन किसिमले सत्रौं शताब्दीमा नेपाली कागज उत्पादन हुन्थ्यो, उत्पादनको प्रक्रियाचाहिँ त्यही नै हो । यसलाई हातले नै बनाउनुपर्छ । अहिले हामीले उत्पादन गर्ने प्रक्रिया जापानी प्रक्रिया हो । जुन प्रक्रियाबाट उत्पादित कागजहरु कम्प्युटर र अफसेट मेसिनमा पनि सजिलै छापिन सक्छन् । नेपालमा अहिले धेरैजसो ‘ए–फोर’ साइजका नेपाली कागजहरु खपत हुन्छन् ।

    नेपाली कागज उद्योगीको सरकारसमक्ष अहिले माग के कस्ता छन् नि ?

    नेपाली हाते कागज उत्पादक संस्थाहरु सरकारसमक्ष सरकारी कार्यालयमा नेपाली कागज प्रयोगको दायरा बढाउनुपर्‍यो भनेर लागिपरेका छौं । एउटा सरकारी कार्यालयले २० प्रतिशत नेपाली कागज प्रयोग गर्छ भने, अब त्यो ४० प्रतिशत पु¥याइयोस् भन्ने हाम्रो माग हो । यसरी दायरा बढाइयो भने अहिले नेपाली कागज उत्पादनमा प्रत्यक्ष/अप्रत्यक्ष गरेर ६०–७० हजार नेपालीले रोजगारी पाएका छन् । यता त्यो रोजगारीको दायरा पनि डबल हुन्छ । फेरि यसका कच्चापदार्थ हिमाली डाँडाहरुमा जति पनि छन् अर्को यसको खपत सरकारी कार्यालयमा बढ्यो भने नेपालमा नेपाली कागज उत्पादनका कच्चापदार्थको खेती पनि त गर्न सकिन्छ । त्यसले रोजगारीको दायरा पनि त फराकिलो हुन्छ । नेपाल सरकारका सबै कामहरु नेपाली कागजको प्रयोगमा नै गरौं न । जस्तो अहिले सरकारी कार्यालयमा सुरुका प्रोसेसहरुमा विदेशबाट आयात गरिएका ‘ए फोर’ साइजका पेपरहरुबाट हुन्छ भने त्यसको सट्टा नेपाली कागज नै प्रयोग गरौं न अहिलेका नेपाली कागजमा कम्प्युटरबाट पनि सजिलै प्रिन्ट हुन्छ । सुरुमा निवेदन दर्तादेखि नै कार्यालयहरुमा नेपाली कागज नै प्रयोग गरौं भन्ने हाम्रो माग हो ।

    विदेशमा पठाउन सकिने, स्वदेशी कच्चापदार्थमा निर्मित यस्तो उत्पादनबाट नेपालीले राम्रो रोजगारी पनि पाउने रहेछन् । सरकारबाट के के सहयोग भयो भने यसको दायरा बढाउन सकिएला त ?

    सरकारले भन्सारमा सहुलियत देओस् भन्ने गुनासो नेपाली कागजको उत्पादनमा छैन, किनकि मैले माथि पनि भनें यो उत्पादनको लागि विदेशको मुख ताक्नै पर्दैन । यसमा कुनै पनि कच्चापदार्थ विदेशबाट ल्याउनु पर्दैन । यो विल्कुलै नेपालमा नै उदाएर नेपालमा नै अस्ताउने चिज हो । यो स्थानीय उत्पादनले राज्यको अर्थतन्त्रमा मनग्गे टेवा दिने उच्पादन हो । सरकारले गरिदिने भनेको सरकारी र गैरसरकारी कार्यालयमा नेपाली कागजको प्रयोगको दायरा मात्र बढाइदिनुपर्‍यो एक, अर्को कुरा नेपाली कागजलाई विदेशी बजारमा कसरी स्थापित गर्ने हो त्यसमा सरकारको ध्यानाकर्षण हुनुपर्‍यो । हाम्रो देशका जति पनि ठूलाबडाहरु विदेशमा जानहुन्छ त्यो अवस्थामा हाम्रो स्थानीय उत्पादनहरु उपहारको रुपमा लिएर जानुपर्‍यो । जस्तो म एउटा उदाहरण दिन्छु नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई भेट्न जानु हुँदा नेपाली कागज, अल्लो, अलैंची उपहार लिएर जानुपर्‍यो र नेपाली कागज कति अग्र्यानिक छ त्यसको फाइदाको बारेमा उहाँलाई ब्रिफिङ गर्नुपर्‍यो । अमेरिकी राष्ट्रपति कुनै पनि देशको भ्रमणमा जाँदा उहाँले अर्को राष्ट्रलाई हाम्रो देशको हातहतियार किन्देऊ भन्न मिल्छ भने हाम्रा सरकार प्रमुखहरुले विदेश जाँदा हाम्रो नेपाली कागजका विशेषताहरु बताउँदै नेपाली कागज किन्देऊ भन्न मिल्छ नि मिल्दैन र ? अहिले इजरायल विश्वको पाँचौं ठूलो सैनिक शक्ति बनेको छ, त्यो कसरी बन्यो भने काउली र साग बेचेर बन्यो । इजरायलको माटो भनेको हाम्रोजत्तिको उब्जाउयोग्य माटो नै होइन, तर उसले हाम्रोजस्तै उब्जाउयोग्य माटो किनेर लगेर त्यहाँ कृषिमा आममूल परिवर्तन गर्‍यो र उब्जिएका तरकारीहरु विश्वबजारमा पठायो र उ धनी भयो । त्यस्तै, हाम्रा स्थानीय उत्पादन अर्थतन्त्रका मेरुदण्ड हुन् । यस्ता उत्पादनको दायरा नेपालमा जति पनि बढाउन सकिन्छ, तर यसको प्रचार–प्रसार विदेशी बजारसम्म पुर्‍याउने काम हाम्रा नीति–निर्माताहरुले गरिदिनुपर्‍यो । त्यसो भयो भने हाम्रा देशमा रोजगारीको दायरा पनि बढ्छ । त्यही किसिमको खेतीपाती पनि सुरु हुन्छ र हाम्रो अर्थतन्त्र पनि समुन्नत र सवल बन्न सक्छ । जनप्रशासन पाक्षिकबाट