• काठमाडौं । आइतबार उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिएका छ । तीमध्ये काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । भदौ ६ गते शनिबार उपत्यकामा २१६ जना संक्रमित भेटिएका थिए ।

    पछिल्लो २४ घण्टामा उपत्यकाका सहित मुलुकभरबाट ८१८ जना संक्रमित थपिएको प्रवक्ता डा. गौतमले बताए । संक्रमितमध्ये ५९८ पुरुष र २२० जना महिला रहेका छन् । यीसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

    मन्त्रालयका अनुसार आइतबार थप २८१ जना डिस्चार्ज भएसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत भएको मन्त्रालयले बताएको छ ।

    त्यसैगरी सोही अवधिमा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय पुष्टि गरेको छ । मृतकहरु झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला छन् । यीसँगै नेपालमा आइतबारसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । आइसोलेसनमा १३ हजार १ सय ५५ जनामा सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।