• काठमाडौं । विगत २४ घण्टामा कोरोनाका कारण एकै दिन ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेहरु काठमाडौं, ललितपुर, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । तीमध्ये दोलखाकी एक महिला र बाँकी पुरुष छन् । यीसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको प्रवक्ता गौतमले बताए ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरबाट ८३८ जना कोरोना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १८ हजार २१४ जना निको भएका छन् । २४ घण्टाको अवधिमा २५० जना डिस्चार्ज भएका छन् ।

    त्यसैगरी अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ । क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेको मन्त्रालयले बताएको छ ।