• काठमाडौं । उपत्यकाबाट पछिल्लो २४ घण्टाको अवधिमा २ सय कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयको बिहीबारको कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाकासहित मुलुकभरबाट ७ सय ७ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । उनका अनुसार अहिले नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

    त्यसैगरी २४ घण्टाको अवधिमा थप ६ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले पुष्टि गरेका छन् । मृतकहरुमा काठमाडौंकी एक महिला, मकवानपुर र सप्तरीका एकएक पुरुष र पर्सामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने १२६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ९६४ पुगेको छ । बिहीबारमात्र थप २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । त्यस्तै अहिले आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ रहेको छ । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७६८ जना पुगेको छ ।

    यस अवधिमा मुलुकभरका विभिन्न प्रयोगशालाबाट ११ हजार ८३२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले बताएको छ । यसरी अहिलेसम्म ५ लाख ६६ हजार १५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षणहरु गरिएका छन् ।