• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयको कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा मुलुकभरबाट ६८१ जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् । नयाँसँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको उनले जानकारी दिए । सो अवधिमा १३ हजार ४६१ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । भदौ २ गते अहिलेसम्मकै धेरै १ हजार १६ जना संक्रमित भएका थिए ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र १५९ जना रहेका छन् । तीमध्ये काठमाडौंका १३४, ललितपुरका १७ र भक्तपुरका ८ जना रहेको प्रवक्ता डा. गौतमले बताएका थिए ।

    त्यसैगरी विगत २४ घण्टामा १ सय २० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसहित हालसम्म निको भएर घर फर्कनेको संख्या १७ हजार ७ सय पुगेको छ ।

    मन्त्रालयका अनुसार मुलुकभरमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ पुगेको छ । त्यस्तै आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ रहेको मन्त्रालयले बताएको छ ।

    विगत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकहरु काठमाडौं र बर्दियाका एक–एक पुरुष छन् भने भक्तपुर, मोरङ, सुनसरी र चितवनका एक–एक जना महिला छन् । यीसँगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ