• काठमाडौं । शनिबार मुलुकभरबाट ३७८ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । उनले पछिल्लो २४ घण्टामा ७ हजार ७७८ जनाको पिसीआर परीक्षण भएको बताएका थिए ।

    प्रवक्ता गौतमले आज काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएको बताएका छन् । उनका अनुसार काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना रहेका छन् ।

    मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता डा. गौतमले सोही अवधिमा थप ४९९ जना कोरोनामुक्त भई डिस्चार्ज भएको बताए । अहिलेसम्म कोरोना जितेर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

    मन्त्रालयले कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ । त्यस्तै मुलुकभरका क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार २०६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । यस्तै अहिले कोरोना संक्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।