• काठमाडौं । बिहीबार थप १४७ जना कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४८१ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

    नयाँ थपिने संक्रमितमा काठमाडौं उपत्यकाका ९ जना रहेका छन् । काठमाडौं ५, ललितपुर २ र भक्तपुरमा २ जना रहेको मन्त्रालयले बताएको छ ।

    त्यसैगरी सोही अवधिमा थप एकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । वीरगन्जका ७० वर्षीय एक पुरुषको साउने ७ गते उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । उनमा श्वासप्रश्वासको समस्या रहेको बताइएको छ । यीसँगै नेपालमा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

    मन्त्रालयका अनुसार विगत २४ घन्टामा १५६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसहित नेपालमा कोरोना जित्नेको कुल संख्या १२ हजार ८४० पुगेको छ ।

    कोभिड–१९ ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको बताएका छन् । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ पुगेको उनले जानकारी दिए ।