• काठमाडौं : चुनाव प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डीप फेक’ र ‘एआई जेनेरेटेड’ रहेको पाइएको छ ।

    निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा आज आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो जानकारी दिएका हुन् । उनकाअनुसार आयोगले सामाजिक सञ्जाल कम्पनीहरूसँग मिलेर यस्ता सामग्री नियन्त्रण गर्न ‘इलेक्शन डेक्स’ स्थापना गरेको छ ।

    निर्वाचन आयोगका लागि यो पटक प्रविधिजन्य भ्रामक सूचना, विशेषगरी ‘डीप फेक’ ठूलो चुनौतीका रूपमा देखिएको छ । प्रवक्ता भट्टराईकाअनुसार अहिले प्रवाह भइरहेका ‘टक्सिक’ र भ्रामक सूचनाहरूमध्ये ५४ प्रतिशत सामग्री आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएको पाइएको छ । आयोगले यूएनडीपीको सहयोगमा यस्ता सूचनाहरूको ‘ट्रेन्ड एनालाइसिस’ गरिरहेको छ ।

    यस्ता चुनौतीलाई सम्बोधन गर्न आयोगले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीहरूसँग निरन्तर सम्पर्कमा रहेको प्रवक्ता भट्टराईले बताए।