• काठमाडौं : प्रमुख मालपोत अधिकृत र कार्यालय सहयोगीमाथिको भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सरकारी साक्षीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्तासम्बन्धी काम गर्नका लागि सेवाग्राहीसँग घुसबापत २४ लाख ५० हजार रुपैयाँ मागी भ्रष्टाचार गरेको मुद्दामा उनीहरूले अदालतसमक्ष बकपत्र गर्दा आयोगमा दिएको बयान भन्दा फरक देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    अख्तियारले तेजबहादुर र सानुकान्छाविरुद्ध जनही २४ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।