• काठमाडौं : प्रहरीले काठमाडौंमा गुण्डागर्दीविरुद्ध रातभर अपरेसन संचालन गरेको छ । उनीहरुलाई ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् ।

    चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलमा जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

    गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौंका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेको सं संख्या यकिन हुँदै छ ।

    प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

    नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

    रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको हो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।