• म नेपाली साहित्यलेखनमा बामे सर्दै गरेको एउटा सामान्य सिकारु सर्जक हुँ । कुनै पनि सिर्जना गर्दा स्पष्ट बुझिने लोकभाषा चाहिने रहेछ । भाषा पुष्ट र स्पष्ट हुन त्यस भाषाको हिज्जे कहाँ कहाँ कसरी राख्नुपर्ने हो भन्ने कुराको ज्ञान पाउन व्याकरणको नियम चाहिने रहेछ । अरू धेरै कुरा छन् तर यहाँ लम्ब्याउँदै बढी लेख्दिनँ ।


    यो कुरा किन लेख्नुपरेको हो म आफैलाई थाहा छैन । म सानै छँदा मेरा बाले भनेको कुरा थियो : ”छोरा, तैँले आफूभन्दा ठुलाको कुरो सुन्ने गर्नू । ठुला मान्छेले कहिल्यै हानि गर्दैनन् । अनि नि ! कान्छा, राम्रा नराम्रा जुनसुकै कुराको पनि गैह्रसरकारीभन्दा सरकारी या आधिकारिक ठाउँको विश्वास राख्नू । मै जान्नेसुन्ने छु भनेर घमन्ड नगर्नू ।” मेरा बा बितेर गए पनि बाका कुरा बितेका छैनन् । मेरा दिमागमा ताजै छन् । बाकै कुरा मानेर मेरा सिर्जना राम्रा र शुद्ध बनुन् भनेर म हरहमेसा विश्वविद्यालयहरूका नाउँ चलेका बडेबडे प्राध्यापकहरूले के कसरी विद्यावारिधि गरेका रहेछन् तिनका अनुसन्धानमूलक लेखहरू पढ्ने गर्छु । उनीहरूले प्रयोग गरेका हिज्जेहरूको अनुसरण गर्ने गर्छु । ककसले दाहिना र बाइमात्रा कताकताबाट लेखेका छन् ? नियालेर हेर्ने गर्छु । ए त्यसरी होइन रहेछ यसरी पो रहेछ भन्ने थाहा पाउँथेँ तर अचेल मेरो दैनिक लेखाइमा परिवर्तन आउन थालेको छ ।


    अचेल मेरो एउटा मनले भन्छ- तैँले भावनात्मक रूपले गुरु मान्दै आएका गुरुहरूलाई गुरु भनिरहन पर्दैन किनभने तिनमा अज्ञानका अहंकारी पहाडभन्दा अरू केही थुप्रिएकै छैन । फेरि अर्को मनले भन्छ- हैन ! हैन ! अज्ञानको पहाड कसरी उठेको रहेछ ? चाहे ज्ञानको होस् चाहे अज्ञानको होस् उठ्न त उठेकै छ त ! ती उठेका पहाड हेर्न त्यसरी नै उठ्न नसके कसरी देख्न सकिन्छ ? ओई चन्द्रे ! तँ पनि उठ् ! उठ् ! भनिरहन्छ ।


    हाम्रा नेपालीभाषी प्राध्यापकहरू अस्थिर नदीकिनारका घरहरूजस्तै एक तलेदेखि एक्काइस तलेसम्म उठ्न त उठेका छन् तर उनीहरूमा नदीमा कहिलेकाहीँ गाडगङ्गा आउँछ र हामी खोतलिएर पल्टिन सक्छौँ भन्ने दूरदर्शिता नै छैन भने भरे के हबिगत होला ! भन्ने ज्ञानको पहाड उठ्नुपर्ने हो तर अचेल उठेको या उठ्न प्रयासै गरेको देखिँदैन ।


    यही सिलसिलामा मैले एक सय एक एक सय जनाभन्दा बढी नेपालीभाषी, नेपाली विषयकै प्राध्यापकहरूको अनुसन्धानमूलक लेखहरू र उनीहरूले गरेका सबै विधाका सिर्जनाहरूको अध्ययन गरेँ । जस्तो : केही प्रतिनिधिका रूपमा मात्र नाम लिऊँ, हेरौँ : प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. सर्वराज आचार्य, प्रा.डा. हेमाङ्गराज अधिकारी, Hemang Adhikari प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. मुकुन्दशरण उपाध्याय, प्रा.डा. Madhav P Pokharel माधवप्रसाद पोखरेल, प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेल, प्रा.डा. हेमनाथ पौडेल डा.हेमनाथ पौडेल आदि सिनियरदेखि प्रा.डा. लक्ष्मणप्रसाद गौतम, Laxman Prasad Gautam प्रा. डा. जगत् प्रेक्षित उपाध्याय, Jagat Prasad Upadhyaya प्रा.डा. रामप्रसाद ज्ञवाली Ram Prasad Gyawali आदि जुनियरसम्मका लेखाइ हेर्छु दश जनाको दशैथरी रेफकान छ । नपत्याए तपाईं आफै पढेर हेर्नोस् !


    यसो किन भयो ? यिनले नेपाली लेखाइमा एकरूपता ल्याउन किन सक्तैनन् ? जताततै प्रश्नैप्रश्न छ । यो चाला देख्दा उपर्युल्लिखित प्राध्यापकहरूको चेतना पनि सम्माननीय प्रधानमन्त्री विदेश भ्रमणबाट आउँदा देशमा यस्तो दैवीविपद आइपर्दा पनि यात्रा छोट्याएर किन चाँडो आउनुभएन भनी पत्रकारले सोधेको प्रश्नमा ‘म दुध माग्न गएको हो र चाँडै आउन !’ जवाफ दिएजस्तो लाग्छ ।


    अझ भनूँ- यी प्राध्यापकहरूको चेतना हालसालै नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपतिले दैवीप्रकोपमा परेका मृतक आत्माप्रति श्रद्धाञ्जली दिँदा कुलपतिले अशुद्ध लेख्यो भनेर गालीगलौजसहित शुद्ध लेख्न सुझाव दिने उपदेशकहरूकै अशुद्ध भाषामा लेखिएका सुझाव प्रतिक्रियाजस्तो लाग्छ । उपदेशकहरूले पनि आफ्नो स्थान आफैले कायम गर्न सक्दैन भने उपदेशको के अर्थ ? चाणक्यले चन्द्रगुप्तलाई दिएको उपदेश कहिल्यै असफल भएको थियो ? सञ्जालका उपदेशकहरूले दिएको उपदेश चाणक्यको जस्तो खम्बिर र गम्भीर होस् नत्र नाच्न नजान्नेले तेरो घरको आँगनै टेडो भनेजस्तो भइहाल्यो नि !


    अचेल त यी प्राध्यापकहरूको चेतना नेपालको पश्चिम भेगबाट मध्यनेपालतिर आएका मेरा ३५ पुस्ते न्यौपाने पुर्खाहरूले मलाई यसरी लेख्नुपर्छ भनेर अराउनेखाले कुनै उपदेशीय नीतिका ठेली छाडेर गएका छैनन् तर मेरी नातिनीले मोबाइल नं. नौ आठ चार एक… होइन, हजुरबाले जानेकै रहेनछ, नाइन एइट फोर वान.. हो भनेर पढाउँदा अङ्ग्रेजी बुलडोजरको चेनले भइँ थिच्चा जमिन हल्लाएजस्तो हल्लाउँदै थिचथाच पार्न मेरा नातिनातिनीहरूलाई बोर्डिङ्गहरूले सिकाएर पठाएजस्तो विश्वविद्यालयका विचारैपिच्छेका प्राध्यापकहरूले यसरी लेख् उसरी लेख् भन्नू भनेर अराइरहेझैँ लाग्छ ।