• उहिलैकाे कुरा हाे विद्वान्हरूकाे अनुभवबाट जन्मिएकाे संस्कृतमा एउटा उक्ति रहेछ- “विद्वान् सर्वत्र पूज्यते”
    चन्द्रगुप्त मौर्यलाई विशाल भारतको प्रथम सम्राट बनाउने उद्देश्यका साथ आचार्य विष्णुगुप्त अर्थात् चाणक्यले एउटा श्लोक बनाएका रहेछन् –


    विद्या मित्रं प्रवासेसु माता मित्रं गृहेषु च ।
    व्याधितस्यौषधंमित्रं धर्म मित्रं मृतस्य च ।।

    तत् तत् कालीन विद्वान्हरूले जीवनभरिका अनुभवबाट जन्मिएका यस्ता अनेकाैँ उक्तिसूक्तिहरू बनेका छन् हाम्रा संस्कृत साहित्यमा ।


    प्रसङ्ग पशुपतिनाथ, काेटिहाेम र आचार्य कृष्ण दमाईकाे हाे । चन्द्रगुप्त सम्भ्रान्त वर्ग, जातका थिएनन् जसलाई चाणक्यकाे शिक्षाले अजम्मर इतिहास रचिदियाे ।

    विद्याले धर्म, संस्कार, पापपुण्य, राजनीति जस्ता अनेकन विभेदकारी दृष्टिले जसरी असमानताकाे संसार देख्दैन । बुद्धकाे जस्ताे कारकातावादी दर्शनलाई अपनाउँछ । नेपालमा राणाकालीन समयभन्दा अगाडिकाे समय जे थियाे त्यसकाे तुलना नगराैँ तर राणाकालीन अवस्था भयानक अन्धकार नै थियाे । १९५७ सालमा देवशम्शेरले बल्ल देशभर ५७ ओटा संस्कृत पाठशाला खाेलेका थिए जुन शिक्षाले पुरातन शिक्षा र मार्गलाई नै अपनाएकाे थियाे । देवशम्शेरकाे केही सुधारात्मक चेतनाले स्थान पाउन सकेन ।

    तत्पश्चात बिचबिचमा अनेक सङ्घर्ष भइरहे । राणाकालकाे अन्त्यतिर अर्थात् २००३ सालमा बाग्लुङका भागवत सर्वजित कामीले देशका सबै मानिसहरू एकै हुन् छुवाछुतको वर्गीय भाव हुनुहुन्न भनेर बाैद्धिक आन्दाेलनकाे सुरुआत गरेका थिए । सर्वजितले बनारसमा भागवत पढेर आएपछि नामकाे अगाडि “भागवत” सर्वजित कामी भनेर आफूलाई परिचित गराएका थिए । उनकाे सपना दूरदर्शिता थियाे- “विद्या नै सर्वसत्ता” हाे । उनकाे सपना आज २०८१ साल अर्थात् ७८ वर्षपछि आएर साकार भएकाे छ । अहिले बनारस जानुपर्दैन संस्कृत शिक्षा लिन । नेपालकाे संस्कृत विश्वविद्यालयमा संस्कृत/पाैराणिक परम्परा शिक्षामा डिग्री गरेका आचार्य कृष्ण दमाईकाे चेतनाले पश्चगामी चिन्तन र व्यवहारकाे एकाध एकाधिकारी वर्चस्वमा रहेकाे सत्ता ताेडिदिएकाे छ । उनले पशुपतिनाथ र काेटिहाेमजस्ताे स्थानमा प्रवेश पाएका छन् ।

    दलित आयाेगका पहिलाे अध्यक्ष सहर्षनाथ कपाली (कपाली नेवार जातिमा वर्गीय दृष्टिकोणमा अछुत) ले २०१० सालमा टेलर सङ्घ गठन गरेर देशभरका तल्लाे वर्ग भनिएकाहरूकाे नेतृत्व गरेका थिए र पशुपतिनाथकाे मन्दिरमा हामीले पनि प्रवेश पाउनुपर्छ भन्ने मागसहित विशाल जुलुस निकालेका थिए ।

    तत्काल राज्यसत्ता र धर्मसभाले साे आन्दाेलनलाई नियन्त्रणमा लिएर ६-७ सय जना क्रान्तिकारीहरूलाई गिरफ्तार गरेकाे थियाे । पशुपतिनाथकाे मन्दिरमा प्रवेश दिने अनुमति दिइएन । समय कसरी परिवर्तन हुँदाेरहेछ ! परिवर्तनकारी भनेकाे चेतना नै रहेछ ! हेर्नाेस् त ! ६-७ सय जना गिरफ्तार गर्ने चेतना परिवर्तन भएर कराडाैँ चेतनाकाे समर्थनमा अग्रगामी बनेकाे ।

    फेरि पनि उही उक्ति सम्झँदै- “विद्वान् सर्वत्र पूज्यते”

    बधाई छ आचार्य कृष्ण दमाईलाई !

    जय हाेस् सर्वनाथ कपालीहरू !