• सूर्य खड्का सिन्धुसोसाईटी अमेरिकाको बर्तमान अध्यक्ष हुन् । उनैको अगुवाईमा सिन्धुपाल्चोकका जेहेन्दार,असहाय बिद्यार्थीले निजी बिद्यालयमा पढ्न पाईरहेका छन् । अहिले सिन्धुपाल्चोकका २५ जना बिद्यार्थी बिभिन्न निजी स्कुलमा आवासीयरुपमा पढिरहेका छन् । उनीहरुलाई कक्षा १२ सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । यही बिषयमा गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छः–

    सिन्धु सोसाईटी अमेरिकाको स्थापना किन भयो ?

    सिन्धु सोसाईटी अमेरिका सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्नेहरुको साझा संस्था हो । सिन्धुपाल्चोकबाट कर्मका लागि अमेरिका पुग्नुभएको दाजुभाई तथा दिदीबहिनीहरुले जन्मेको थलोमा केही सेवा गर्ने हेतुले सन् २०१० मा यो संस्था स्थापना गर्नुभएको हो । यो संस्थाले स्थापनाको सुरुवातदेखि नै सिन्धुपाल्चोकका जेहेन्दार तथा अशक्त,असहाय बिद्यार्थीहरुलाई निजी बिद्यालयमा स्तरीय शिक्षा दिने उदेश्यले निशुल्क पढाईरहेको छ । जिल्लामा भईपरीआउने अन्य दुःखमा पनि सेवा गरिरहेको छ । बिशेष गरी बिदेशमा बसेर मातृभूमिको सेवा गर्नु नै यो संस्थाको उदेश्य हो ।


    शिक्षा क्षेत्रमा नै सेवा गर्ने कारण चाहिँ के हो नि ?


    हाम्रो संस्थाको नारा नै जीवनका लागि शिक्षा भन्ने छ । जव २०७२ मा बिनाशकारी भुकम्प आयो । सिन्धुपाल्चोकमा धेरै असर भयो । धेरै जनधन क्षति भयो । धेरै बालबालिका टुहुरा भए । उनीहरुलाई पालनपोषण गर्ने र शैक्षिक सेवा दिने काम गरियो । सुरुमा सात जना बिद्यार्थी काठमाडौं ल्याएर आवासीय सुबिधासहित पढाईयो । अहिले २५ जना बिद्यार्थीलाई पढाईरहेका छौं । सिन्धुपाल्चोकको बाह्रबिसे र मेलम्चीमा २४ जना बिद्यार्थी आवासीय रुपमा पढाईरहेका छौं । एकजना काठमाडौंमा पनि पढाईरहेका छौं ।


    अनि बिद्यार्थी छनौटको प्रकृया चाहिँ के हुन्छ नि ?


    मुख्यतः जेहेन्दार, अशक्त असहाय बिद्यार्थीलाई पहिलो प्राथमितामा राखिएको छ । सुरुमा त एकजना बिद्यार्थी पढाउने जिम्मा लिने व्यक्ति अमेरिकामा खोजी हुन्छ ।उहाँले बिद्यार्थीको सवै पक्ष हेरेपछि निर्णय हुन्छ । सुरुमा त्यस्ता बालबालिको निवेदन हाम्रो नेपालका प्रतिनिधिसँग आएका हुन्छन् ।
    हाम्रो संस्थाको बारेमा पालिका मार्फत सूचना भईरहेको हुन्छ । बेवसाईट र सिन्धुपाल्चोकको प्रतिनिधिमार्फत निवेदन आउँछ । पहिलो प्राथमिकता बाबुआमा नभएका असहाय र गरिवलाई राखिएको छ । दोस्रोमा बा अथवा आमा नभएका गरिव तथा पढ्न नपाएको अवस्थामा रहेका वालवालिकालाई राखिएको छ । ती निवेदन तथा सिफारिस अमेरिका पुग्छ अनि त्यसलाई प्राथमिकताका आधारमा एकजना ‘स्पोन्सर’ले एकजना बिद्यार्थीलाई खान,वस्न र पढ्नका लागि १२ कक्षासम्म व्यवस्था गरिदिनुहुन्छ । सुरुमा अमेरिका बस्नेले खुत्रुके घरमा लगेर केही रकम राखेर एक वर्षमा जम्मा भएको रकम नेपाल पठाउने गरिन्थो । अहिले चाहिँ बिद्यार्थीको प्रोफाईल हेरेर व्यक्तिले जिम्मा लिन लागिएको छ । अहिले नेपालमा बस्ने व्यवसायी साथीहरुले पनि बिद्यार्थी जिम्मा लिने प्रकृया सुरु भएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा क्षमादेबी ग्रुप प्रमुख राजकुमार बस्नेतले एकजनाको जिम्मा लिनु भएको छ । अरु समाजसेवीले पनि चासो राख्नु भएको छ । समाजसेवी दलबहादुर रुम्वाले पनि बचन दिनु भएको छ । नेपाल हिमालय सीमापारले पनि एकजना बिद्यार्थी पढाउन सहकार्य गर्ने बचन दिनुभएको छ ।


    समाजसेवामा शिक्षा क्षेत्र नै किन रोजिएको हो नि ?

    शिक्षा मात्र होईन । अरु क्षेत्रमा पनि सेवा भएको छ । बाढी पहिरो पीडितलाई पनि सहयोग गरेका छौं । बिपत्का बेला तत्काल राहतको व्यवस्था गरिएको छ । अरु राहत क्षणिक हुने रहेछ । तर, शिक्षामा लगानीले भविष्यमा धेरै सहयोग हुने रहेछ । शिक्षाको सेवा दीर्घकालिन हुन्छ भनेर यो क्षेत्रमा चासो राखिएको हो । एउटा बच्चा शिक्षित हुनु भनेको उसको परिवार अनि समाज परिवर्तन हुनु रहेछ । अनि भविष्यमा उसले आस्रित परिवारलाई पनि आर्थिक स्तर बढाउने रहेछ । त्यसकारण पनि शिक्षामा सेवा गर्न आवश्यक छ ।

    समाज सेवा सजिलो वा गाह्रो के हुने रहेछ नि ?

    कुनै पनि काम सजिलो पक्कै छैन । तर, मलाई सेवा गर्दा मज्जा आएको आउँछ । सेवा गर्दा आनन्द आउँछ । मन्दिर गुम्वामा पूजा भन्दा यो राम्रो धर्म हो भन्ने लाग्छ । सवैको सहयोगले यो काम सफल भएको हो । सवैलाई धन्यबाद पनि छ । रहरले गरेको काम भएका कारण गाह्रो मानेको छैन ।
    नेपालमा पनि सामाजिक काममा हुनुहुन्थ्यो, सेवाको क्षेत्रमा नेपाल र अमेरिकामा फरक के पाउनु भयो नि ?
    अमेरिका बसेर काम गर्दा अझ धेरै माया बढेको छ । नेपाल बस्दा भन्दा बिदेशमा पुग्दा देश र जिल्लाको माया धेरै हुने रहेछ । स्वदेशमा बस्दा आँगन जस्तै लाग्छ प्रवास पुगेपछि टाढा पुगे झै लाग्दो रहेछ र धेरै माया बढ्दो रहेछ ।


    समाजसेवा चाहिँ किन गर्नु परेको हो नि ?


    सामाजिक काममा मलाई खुव आनन्द आउँछ । काम गरेर बचेको समय अरुका लागि चिन्ता गर्न पाउँदा साह्रै आनन्द पो आउँछ नि । मेरो बुवा पनि यस्तै सेवामा रमाउनुहुन्छ । उहाँको प्रेरणा र उत्पे्ररणाले पनि यता लागेको हो । सेवा नशा जस्तो लाग्छ । सन्तुष्टी लाग्छ । भगवानले पनि साथ दिनुभएको छ ।


    संस्थाको अबको प्राथकिता के छ नि ?


    सुरुमा सिन्धुपाल्चोकका सीमित बिद्यार्थीलाई पढाउने गरिएको थियो । जिल्लाका सवै ठाउँ पुग्ने रहर थियो । यस पटकदेखि जिल्लाका सवै पालिका बाट बालबालिका छनौट गरेर बिद्यार्थीलाई पढाउन थालिएको छ ।
    अब यही अमेरिकामा बस्नेहरुका लागि पनि सेवा गर्ने योजना बनाईरहेका छौं । प्रवासमा बस्नेहरुका लागि सहयोग गर्नका लागि बिभिन्न योजना बनिरहेको छ । अमेरिका बस्ने सिन्धुपाल्चोकका जनताका लागि सेवा गर्ने योजना बनाउँदैछौं । कर्मथलोमा भेटिएकाहरुको पीडामा लाग्नेछौं । पहिलो प्राथमिता संस्थाको आफ्नै भवन निर्माण गर्ने योजना छ । यहाँ सिन्धुपाल्चोकका हजारौं मान्छे छन् । बिरामी पर्दा काम गर्न नसक्दा भोकै पर्ने अवस्था छ । एकदिन कमाएन भने भोकै बस्न पर्ने अवस्थामा पनि साथीहरु हुनुहुन्छ । उहाँहरुलाई सहयोग गर्न पुँजी निर्माण गर्ने योजना पनि संस्थाको छ ।


    सिन्धुपाल्चोक बाट अमेरिका आएको मान्छे यो संस्थामा सदस्य किन बन्ने ?


    मुल कुरा समाज हो । दुनियाँमा एक्लै कोही रमाउन सक्दैन । केही समय सक्ला तर, पछि समाज चाहिन्छ । समाजमा पनि मन मिल्ने मानिस र भावना जोडिएका मानिस चाहिन्छ । त्यसकारण सिन्धुपाल्चोकको भावना जोडेर समाज निर्माण गर्न यो संस्थामा आवद्ध हुन आवश्यक छ । त्यो बाहेक आफू जन्मेको माटोलाई केही सेवा गर्न पर्छ । एक रुपैयाँ भएपनि जन्मेको माटोमा लगानी गरौं भन्ने भावना जागृत हुन पर्छ । बिदेशमा बस्दा आफ्नै ठाउँका मान्छेमा पनि चिनजान नहुन सक्छ । यो संस्थाले चिनजानको अवस्था ल्याईदिन्छ । नेपालमा मनाईने चाडपर्वसँगै मनाउने बातावरण पनि संस्थाले तयार गरेको छ । ल्होसार दिपावली जस्ता कार्यक्रम हुन्छ । यी कारण पनि हाम्रो जस्ता संस्था आवश्यक छ ।

    त्यो वाहेक पैसाको अभावमा पढ्नबाट बञ्चित धेरै केटाकटी छन् । उनीहरुको भविष्यका लागि पनि हाम्रो सानो सहयोग धेरै ठुलो हुनसक्छ । हुनत नेपालमा शिक्षा निशुल्क छ भन्नेहरु पनि छन् । तर, हामीले १२ कक्षा सम्म स्तरीय शिक्षा दिन खोजेको हो । खाना,बस्न, लाउनको व्यवस्था सहित पढ्ने वातावरण गरिएको हो ।


    अमेरिका र नेपालमा भिन्नता के पाउनु भयो ? बताईदिनुस् न ।


    नेपाल जस्तो अमेरिका सहज छैन । सुख छैन । तर, अमेरिका यो हुन्छु भने सपना राखेर हिड्यो भने पुरा हुने ठाउँ हो । नेपालमा त्यो पुर्वाधार छैन । मेरो अनुभवमा परदेश जानु पैसामात्र कमाउनु होईन । आफू पुगेको समाज पढ्नु पनि हो । अमेरिकामा स्वास्थ्य र शिक्षाको चिन्ता हुन्न । पैसा डिपोजिट गरेमात्र उपचार गर्ने चलन अमेरिकामा हुन्न । प्रणाली छ । मेहनत गरे सपना पुरा हुन्छ । अमेरिकाले काम गर्न पर्छ भन्ने सिकाउँछ । कामको सम्मान गर्न पनि सिकाउँछ ।


    धेरै युवाको सपना अमेरिका छ, उनीहरुलाई सन्देश के दिनुहुन्छ ?


    नेपालीहरु पढ्न,कमाउन वा अन्य बिभिन्न काममा अमेरिका आउने हो । मेहनत गर्छु भन्ने भावना राखेर मात्र अमेरिका आउनुस् । सवैको उस्तै मेहनत हुन्छ । समानताको उदाहरण पनि अमेरिका हो । कोही साना ठुला हुन्न । सवैले मेहनत गर्नुपर्छ । मेहनत गर्नेहरुका लागि स्वर्ग हो अमेरिका । नेपालमा बसेर सपना देखे जस्तो होईन तर, मेहनत गर्छु भन्ने भावनामा राख्नुस् ।


    अन्त्यमा, मैले सोध्न भुलेको अनि तपाईँलाई भन्न मन लागेको कुरा केही छन् ?


    प्रवासमा बसेर पनि हामी एउटा अभियानमा छौं । यो अभियान ‘जीवनका लागि शिक्षा’ भन्ने हो । हामीले पैसा धेरै भएर नेपालमा पठाएको होईन । कार्यक्रम गरेर, अनि कमाईको खर्च बचाएर पठाएका छौं । हाम्रो पसिना नेपालमा सेवाका लागि पठाएका छौं । सेवा र धर्मका लागि हार्दिक आह्वान गर्दछौं । अमेरिकामा बस्ने सिन्धुवासी सिन्धुपाल्चोकवासीको सेवामा लागौं । यही सवैमा अनुरोध छ ।