• काठमाडौं : अहिले देशको पहाडी भू–भागका केही ठाउँमा बादल लाग्नुको साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही ठाउँमा बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसमविद्को पूर्वानुमान् छ । आज वर्षा तथा हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको हो ।

    बिहानको समयमा काठमाडौं उपत्यका तथा विशेष गरी तराईका जिल्लामा सामान्य हुस्सु तथा कुहिरोका कारण भिजिविलिटी कम भए पनि दिउँसो हट्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । मौसम खुलेको भए पनि चिसो भने बढेको छ ।

    आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।