• काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’ बाट निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड र मुग्लिन–पोखरा सडक खण्डको भर्चुअल निरीक्षण गरेका छन् ।

    आज सोमवार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडक खण्डका बारेमा जानकारी लिए । निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो गरी अगाडि बढेनन् र नागरिकले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ ।’

    गिटी, बालुवा ढुङ्गा, विद्युतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन पेस गर्नुपर्‍यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । नागरिकले दिनहुँ समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’

    परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा ढिलो भयो भन्न नपाइने उनको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’

    अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रचण्डले भने, ‘राष्ट्रिय गौरवका योजनामा काम दुई ‘शिफ्ट’ मा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौँ । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौँ ।’