• जाजरकोटमा गएको भूकम्पबाट प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न सरकारले निर्देशन दिएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत् उद्धार कार्य प्रभावित हुने भन्दै बिदामा रहेका कर्मचारीलाईसमेत कार्यालयमा फर्कन निर्देशन दिएको हो । मन्त्रालयले उद्धार कार्यमा अग्रसरता देखाइ खटिनसमेत आग्रह गरेको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुनसमेत निर्देशन गरिएको छ ।’

    शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक पटक परकम्प महसुस भएको छ । भूकम्पबाट रुकुम पश्चिम र सल्यानसहितका जिल्लामा पनि भौतिक क्षति भएको छ ।