• भदौ २२ मा निजामती सेवा दिवसकै दिन संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवा दिवशको मूल समारोहमै कर्मचारीलाई विधेयकसंसद जाने तय भएको भन्दै बधाइ पनि दिएका थिए । यो अधिबेशन अन्त्य भयो तर, बिधेयक आएन ।


    प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासनलाई चलाएमान गराउन पर्ने ऐन संविधान जारी भएको ८ वर्ष बित्दा समेत आउन सकेको छैन । हुनत २०७५ सालमा संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक विवादका कारण १९ असोज २०७८ मा फिर्ता भएको थियो । सरकारले बजेट अधिवेशनबाटै पारित गर्ने भनेकोसंसदमा पेश नै नभई अधिवेशन अन्त्य भयो ।

    २१ भदौको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संसदमा पेश गर्न स्वीकृति दिए पनि कर्मचारीहरुले आफ्नो स्वार्थका कारण मन्त्रिपरिषद्को निर्णय पनि कार्यान्वयन गरेनन् । प्रधानमन्त्रीसमेत कर्मचारीहरूको स्वार्थमा अलमलिएको विधेयक संसदमा पठाउन नसक्दा निरीह देखिए । मुलुक संघीय संरचनामा गएको छ । तर, संघीय निजामती ऐन नबन्दा प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या छ ।

    प्रदेश र स्थानीय तहको सेवा प्रवाहमै समस्या देखिएको छ ।
    राजनीतिक दलहरुबीचको असमझदारी र कर्मचारीहरुको स्वार्थका कारण निजामती सेवा विधेयक लामो सयम अल्मलिएको जानकारहरु बताउँछन् । कर्मचारी प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन अत्यावश्यक विधेयक लामो समय अल्झनु संभीयता कार्यान्वयनमै आलटाल भएको स्पष्ट छ ।

    यसको प्रमुख कारक दल निकट कर्मचारीहरु हुन् । कर्मचारीहरुलाई विधेयकको व्यवस्था आफू अनुकुल चाहिएको छ । जसको सरकार आउँछ उसका कर्मचारीका अनावश्यक दवाले समस्या पारेको स्पष्ट देखिन्छ । निजामती बिधेयक समस्या पारेर संघीयतामा कार्यान्वयनमै जटिलता थोपरिएको छ । त्यसकारण पनि संघीयताप्रति प्रश्न उठ्न थालेको छ ।


    प्रधानमन्त्री पुष्पकमल दाहाल १३ असोजमा फर्किएपछि विधेयक संसदमा पेश हुने अपेक्षा गरिएको थियो । तर, त्यसको एक महिनासम्म विधेयक संसदमा दर्ता हुुन सकेन र बिहीबार त संसदको अधिवेशन नै अन्त्य भयो । मुख्यतः दुई विवादले विधेयक संसदमा पठाउन नसकिएको अधिकारीहरु बताउँछन् । प्रदेश सचिव खटाउने अधिकार संघीय सरकारमा राख्ने कि प्रदेशलाई दिने भन्नेमा संसदमा रहेका दलहरुबीच एकमत छैन ।

    यसमा कर्मचारी तहमा पनि समान बुझाइ छैन । त्यस्तै विधेयकमा अतिरिक्त सचिवको व्यवस्था राख्ने कि नराख्ने विषयमा उपसचिव र सहसचिवस्तरका कर्मचारीबीचको विवादका कारण पनि यो विधेयकमा ढिलाइ भएको हो । अब कुन तहका कर्मचारीहरूको स्वार्थअनुसार विधेयकको मस्यौदामा के कस्ता विषयहरु फेरबदल गर्न खोजिएको हो भन्ने खुलेको छैन । स्रोतका अनुसार सरकारले स्थानीय तहका कर्मचारीसँग २७ असोजमा गरेको समहतिअनुसार केही विषयहरु विधेयकमा समेट्न प्रयास गर्ने तयारी गरेको छ ।