• काठमाडौं : नेपालमा पत्रकारिता शुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    विसं १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको विसं १९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका छन् ।

    नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए। यही छापाखानामार्फत नेपालमा पत्रकारिताको शुरुवात भएको हो ।

    राष्ट्रिय विभूतिसमेत रहेका भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए । तत्कालीन समयमा नेपाली साहित्यमा उनले गर्नु भएको योगदान अतुलनीय छ ।