• काठमाडौं : काठमाडौं उपत्यकाको फोहर थुपारिँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितहरूले आउँदो असोज १ गतेदेखि फेरि फोहोर रोक्ने चेतावनी दिएका छन् ।

    यसअघि पटक पटक सम्झौता भए पनि कार्यान्वयन नभएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए । समितिले आफ्ना मागसहितको अपिल काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकालाई बुझाएको उनले बताए ।

    समितिले प्रभावित क्षेत्रको मानव बस्ती स्थानान्तरणका लागि नेपाल सरकार र काठमाडौं महानगरपालिकाले १७ वर्षअघि गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेसहित सात वटा माग राखेको छ । गएको १८ वर्षमा भएका २५ वटा सम्झौता महागर तथा सरकारको तर्फबाट उल्लङ्घन भएकोले त्यसको कार्यान्वयन शुरु नभएसम्म नरोक्ने गरी आन्दोलन गर्न लागेको संयोजक ढुङ्गानाले बताए ।