• काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।

    आज आइतवार काठमाडौंमा एक कार्यक्रममा कृषिमन्त्री भुसालले यस्तो बताएका छन् । उनले कृषि नेपालका लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताए । उनले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको बताए । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको उनको भनाइ छ ।

    उनले भने, ‘कृषि क्षेत्र हाम्रो देशको एउटा मेरुदण्ड हो । हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको हो । अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन सकेको छैन । बर्खायाममा ४८ प्रतिशत जमिन सिँचाइ हुन्छ नत्र सधैँभर सिँचाइ हुने क्षेत्र भनेको १८ प्रतिशत हो । यस वर्ष हामीले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर शुरु गरेका छौँ ।’

    कार्यक्रममा मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानुनको रूपमा कृषि विधेयक संसदमा पेस गर्ने तयारी भइरहेको बताए । उनले आउँदो अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत् कानुनी संरचनाको व्यवस्थापन हुने बताए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताए । उनले जमिनको प्रयोग नगरि अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उल्लेख गरे ।