• काठमाडौं : सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका राष्ट्रपति सी जिनपिङ, बेलायतकी प्रधानमन्त्री ऋषि सुनक, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान समेत विश्वका शीर्ष नेताहरु सहभागी हुने छन् । तर रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भने दिल्ली नआउने भएका छन् ।

    रुसी राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री फेस्कोफले रुसी सञ्चार माध्यमहरुलाई बताएअनुसार पुटिन दिल्ली आउने योजना छैन । उनले भनेका छन्, ‘अहिले युक्रेनमा विशेष सैन्य अभियान नै सबभन्दा महत्वपूर्ण छ ।’

    पुटिनले छिट्टै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोगानको निम्तोमा टर्कीको यात्रा गर्ने र ब्लाक सी ग्रेट डिल (ब्लाक सीमार्फत गहुँ निर्यातसम्बन्धी सम्झौता) मा छलफल गर्ने सम्भावना थियो । टर्कीका सञ्चार माध्यमहरुका अनुसार पुटिन अगस्टको अन्त्यमा भ्रमणमा आउने तयारी थियो । तर त्यो पनि रोकिएको मानिएको छ ।

    हालै दक्षिण अफ्रिकामा भएको ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए । त्यहाँ विदेशमन्त्री सर्गेई लाभरोफ सहभागी भए ।

    जी–२० को सम्मेलनमा पुटिनको अनुपस्थिति नयाँ पनि होइन । २०१३ मा अष्ट्रेलियाको ब्रिसबेनमा भएको जी–२० सम्मेलनमा पुटिनलाई बोलाइएकै थिएन ।

    युक्रेन युद्धपछि त पुटिनको विदेश भ्रमण निकै कम भएको छ । जुन २०२२ म उनी ताजकिस्तान र तुर्कमिनिस्तानको भ्रमण गरेका थिए । गत वर्ष उनी एमसीओ समिटमा उज्बेकिस्तान पुगे ।

    युक्रेनका बालबालिकालाई अवैध रुपमा रुस लगेको आरोपमा यो वर्ष १७ मार्चमा अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)ले पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।

    रुस र युक्रेन दुबै आईसीसीको सदस्य छैनन् । तर २०१५ मा युक्रेनले आफ्नो भूमिमा भएका अपराधका लागि आईसीसीको अधिकार क्षेत्र स्वीकार गरेको थियो ।

    मार्च २०२२ मा अभियोजक करिम खानले मानवता विरुद्धको अपराध कथित नरसंहारको आरोपमा जाँच सुरु गरे । दक्षिण अफ्रिका आईसीसीको सदस्य छ र यदि पुटिन जोहानेसबर्ग गएको भए उनलाई गिरफ्तारी प्रयासमा सहयोग गर्नुपर्ने हुन्थ्यो । त्यही कारण पनि उनी दक्षिण अफ्रिका नगएको हुनसक्छ ।

    तर भारत आईसीसीको सदस्य छैन । तैपनि किन आएनन् ? पुटिनका प्रवक्ताले युक्रेनमा चलिरहेको सैन्य अपरेसनमा ध्यान दिएको बताएका छन् ।