• काठमाडौं : आज नाग पञ्चमी । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी शनिबारका दिन हिन्दू धर्म अनुसार नागको तस्बिरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।

    यसदिन ढोकाको दुवैतिर गोबर लगाएर नागको फोटो टाँसिन्छ । जल दूध र घिउले नागलाई स्नान गराइन्छ । गहुँ दुवो धानको लावा दही चामलको दूध आदिले नागको पूजा गरिन्छ। कालो रङको सर्पको विशेष पूजा गरिन्छ भन्ने लेखिएको छ । नागको पूजा गर्नाले सात कुलपर्यन्त सर्पदेखि भए रहँदैन।

    यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।

    वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । काठमाडौँ पशुपतिको वासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागदह लगायत देशका विभिन्न नाग मन्दिरमा नागपञ्चमीको पूजा गर्नेहरुको घुइँचो लाग्छ ।