• काठमाडौँ ।

    नेपाल वायसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण समाचार केही दिनदेखि प्रचार–प्रसार भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा आज आइतबार जारी विज्ञप्तिमा भनिएको छ– ‘निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’ निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न महानुभावबाट भइरहेको गलत सूचनाप्रति पनि मन्त्रालयले चासो जनाउँदै सत्यतथ्यको पक्षमा उभिन अपिल गरेको छ ।

    निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगमभित्र मौजुदा रहेका कर्मचारी सङ्गठनले निगमका उच्च पदाधिकारीको कार्यकक्षमा पाँच दिनसम्म तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका थिए । त्यसै क्रममा नै निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पार्दै आएका थिए । विरोधका क्रममा कर्मचारी सङ्गठनल लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा खुलाइएको थियो । यद्यपि, कर्मचारीको विरोध भने अझै साम्य भएको छैन ।उनीहरुले महाप्रबन्धकको काममा अवरोध खडा गर्ने गरेका छन् । सरकारले चालू आवको बजेटमार्फत निगमको सङ्गठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धताबमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नेबारे आवश्यक तयारीस्वरुप विभिन्न विकल्पमा छलफलको प्रक्रिया मात्रै अघि बढेको निगमले यसअघि नै स्पष्ट पारिसकेको छ ।