• सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पा शिक्षण पेशमा थिईन । उनलाई राजनीतिले तान्यो र अहिले उपाध्यक्ष बनायो । राजनीतिमा कम चासो राखेको ब्यक्ति जनप्रतिनिधि हुँदा फरकखालको अनुभव पक्कै भयो । काम गर्ने शैलीमा पनि परिवर्तन आयो । यही बिषयमा उनले पत्रकार माधव नेपालसँग कुराकानी गरेकी छिन् । सोही कुराकानीको अंश यस्तो छ
    काम र अनुभव
    आफ्नो कामप्रति सोचेजति सन्तुष्टि हुन सकेको छैन । सिंहदरबार गाउँमा गयो भनेर जुन खालको परिकल्पना गरिएको छ, त्यस अनुसार नीतिनियम, ऐनकानुन र कर्मचारी अभाव, हामी आफैँमा रहेको अनुभवको कमी र जनताको निकै धेरै अपेक्षाका कारणले भनेजस्तो काम गर्न नसकिएको हो । यो अबधिमा सन्तुष्टि भन्दा पनि अलिकति काम गर्न चुनौती बढी भएको अवस्था विद्यमान छ । स्थानीय तहमा उपाध्यक्षहरू धेरै महिला भएका कारणले अलिकति महिलाहरू कहिँ न कहिँ हेपिएको अवस्था छ । कार्यालय चलाउने देखि निर्णायक ठाउँमा पुग्ने कुरामा पनि अलिकति हेपाइ नै हुन्छ । अनुभव बटुल्दै छौँ । हिजो अनुभव नभएका कारणले हरेक कुराहरू थाहा नदिकन निर्णय गर्ने परिपाटी थिए । तर अहिले अनुभव बटुल्दै आएकाले केही अगाडि बढ्दैछौँ । हामी निर्वाचित भइसकेपछि यो दुई वर्षको अवधिमा कर्मचारीको पूर्ति नभएका कारण काम गर्न अप्ठेरो परेको छ । तर, पनि समग्रमा हाम्रो कामप्रति म सन्तुष्ट नै छु । नयाँ संरचना अनुसार कताकता महिला नेतृत्वलाई स्वीकारी नसकेको अवस्था छ । किनकि उनीहरूले महिलाले विभिन्न पदमा बसेर काम गर्न सक्छन् भनेर पत्याइनरहेको अवस्था छ ।


    महिलाको अवस्था


    महिलाको कार्यबोझ घटाउने तथा उत्पादकत्व बढाउने कृषि प्रविधि लगायत अन्य प्रविधिहरूको प्रचार–प्रसार तथा ती प्रविधिमा उनीहरूको पहुँच सुनिश्चित गरिनुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकार, गैरसरकारी संघरसंस्था र समुदायसँग सहकार्य गर्दै कृषिमा महिला सशक्तीकरण गरी उनीहरूको आयआर्जन, उत्पादन, पोषण तथा सरसफाइको अवस्थामा सकारात्मक परिवर्तन गर्ने जिम्मेवारी सबैको हो । कृषिमा महिला नेतृत्व विकास गर्दै उत्पादकत्व तथा आम्दानी बढाउन उनीहरूको प्रविधिमा पहुँच र प्रयोगमा सुधार ल्याउनु जरुरी छ । कृषि तथा स्रोतसाधनमा लैङ्गिक समानतामा बढावा दिँदै महिलाको पोषण र स्वास्थ्य नतिजामा सुधार ल्याउनुपर्छ । ग्रामीण भेगका महिलाहरूले कृषिलाई दिनचर्यामा मात्र सीमित राखेका छन् । यो अवस्थाको अन्त्य गरी व्यवसायमुखी प्रविधिमा आधारित कृषि व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ ।

    महिला र बिभेद


    विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ । यँहाको सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसंख्याको आधा भन्दा धेरै हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन् । परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह,छोराको महत्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्थर विकास हुन सकेको छैन । लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरआदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ । महिला हक,अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी संघ संस्था तथा सरकारी निकाय सम्मले कामहरू ससक्त रूपबाट गरिरहेकै छन् । नेपालको संविधानमा समेत महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उदेश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोहि घोसणा पत्रको बुदा लाई आधार बनाइ कामहरू भइरहेको अवस्था पनि छ ।


    कानुन र महिला


    देशको दर्पणको रुपमा चिनिने संविधान लगायतका अन्य कानूनी दस्तावेजहरु अध्ययन र विश्लेषण गरियो भने महिलाको अवस्था र स्तर पुरुषसंग समान रहेको र महिलाको अवस्था पनि पुरुष सरह नै छ कि भन्ने भान हुन्छ । कानूनमा महिलालाई अधिकार उपभोग गर्नका लागि पुरुष सरह समानता दिई सक्षम र सवल बनाएको छ । नेपालको संविधानको मौलिक हकहरुको हरेक धारामा महिला र पुरुष समान हुन् र महिला भएकै आधारमा विभेद भयो भने विभेद गर्नेलाई कानूनी दायरमा ल्याई कानूनी दायित्व समेत बहन गराउने भन्ने व्यवस्था गरेको छ । अझ महिलालाई पुरुष सरह नै बराबरी स्थानमा ल्याउनका लागि आरक्षण र सकारात्मक विभेदको समेत विशेष व्यवस्था गरेर महिलालाई पुरुष सरह समाज दर्जामा ल्याउन प्रयास गरिएको छ । हरेक कार्यक्रममा महिलालाई सहभागी गराउन समस्या छ । महिलाहरु आउन नचाहने कारण समस्या आयो ।


    न्यायिक समिति र उपाध्यक्ष


    उपाध्यक्षलाई न्यायिक समितिको जिम्मेवारी छ । नयाँ संरचनामा न्याय सम्पादन गर्न परेको छ । कानुनमा जानकारी कम हुन्छ । संरचना नयाँ, काम नयाँ, मान्छे नयाँ भएको स्थिति छ । तीन तहको संरचना छ । तर कर्मचारी पर्याप्त छैन । गाउँपालिकामा नै पुग्ने कर्मचारी छैनन् । न्यायिक समितिका लागि एकजना सहजकर्ता पठाईएको छ । कतिपय अवस्थामा निवेदन लेख्ने,दर्ता गर्ने,छलफल गराउने अनि फैसला पनि आफैले गर्नुपर्ने अवस्था छ । न्याय सम्पादनमा कर्मचारी अभावले समस्या छ । श्रीमान् श्रीमतीको झगडा, साँध सीमानाका समस्या धेरै आउँछन् । पक्ष बिपक्ष तन्किएपछि समस्या हुन्छ । मिलाउन गाह्रो छ । पीडितलाई न्याय दिन पनि समस्या पर्छ । कानुनका दफाका बारेमा जानकार नहुँदा पनि समस्या छ । पहिला आफ्नै कार्यकक्षमा छलफल हुन्थ्यो । अहिले भने अर्कै ईजलाश गठन भएको छ । पेशी पठाएर दुवै पक्ष बोलाएर छलफल गर्ने गरिएको छ । मेलमिलाप हुने किसिमको काम मात्र भएका छन् । ठूला मुद्धामा हात हाल्ने अवस्था पनि छैन ।


    विकास निर्माणमा समस्या


    विकास निर्माणमा उपाध्यक्षको अधिकार कम छ । स्थानीय सरकार संस्थागत रुपमा चल्नु पर्ने हो । तर, त्यसो भएको छैन । हरेक कुरामा समस्या देखिने अवस्था सिर्जना हुन्छ । विकासका काम त भईरहेका छन् । तर, सहभागीताको हिसावमा समस्या देखिन्छ । वजेट वनाउने बिभिन्न चरण हुन्छन् । तर, प्रकृया अनुरुप भएको छैन । भौतिक विकास मात्र खोज्ने धेरै छन् । त्यसकारण पनि परिवर्तनको हिसावले काम भएको छैन । मेरो गाउँपालिका पर्यटनको प्रचुर संभावना छ । आन्तरिक पर्यटक बृद्धि गर्न आवश्यक छ । सडकको विकास गर्न आवश्यक छ । तर यसमा उपाध्यक्षको भूमिका कम छ ।


    कर्मचारी र समन्वय

    कर्मचारी र जनप्रतिनिधि बीच समन्वय नभई काम हुन्न । दुईको साथ चाहिन्छ । मनै बाट काम गर्ने कर्मचारी पाउन गाह्रो छ । खोजेको जस्तो सहयोग पाएको छैन । कर्मचारी तनाव लिन चाहँदैन । जनप्रतिनिधि छिटो गर्न चाहन्छ । यहीनेर समस्या हुन्छ । कर्मचारीले नीति बिधि मात्र हेर्ने गरेको पाईन्छ । तर, जनप्रतिनिधि भने आवश्यकताको आधार हेर्ने गर्छन् । यो बिषयमा कुरा नमिल्दा समस्या आउँछ ।


    तीन तह समन्वय


    नेपालमा तीन तहको सरकार छ । तीन तहको सरकारको समन्वय आवश्यक छ । स्थानीय तहले धेरै सहकार्य प्रदेशसँग गरेका छन् । हामीले पनि सोही अनुसार गरेका छौं । प्रदेश बाट साथ सहयोग पाईएको छ । संघीय सरकारसँग धेरै समन्वय गर्न पाएको छैनौं ।


    चुनावका बाचा


    निर्वाचनका बेला धेरै प्रतिबद्धता हुन्छन् नै । ती प्रतिबद्धता पूरा गर्न लाग्नु पर्ने निर्वाचित प्रतिनिधिको काम पनि हो । चुनावमा धेरै बोलियो । सवै काम गर्न सकिएको छैन । मतदाता आकर्षित गर्नका लागि बोलियो त्यसका लागि अझै लाग्दैछौ । शिक्षामा धेरै जोड दिन आवश्यक छ । त्यसका लागि आधुनिक तवरको मन्टेश्वरी कक्षा सुरु भएको छ । यो चाहि गौरवको कुरा हो । यसलाई अझै परिमार्जन गर्दै शैक्षिक विकासमा र शैक्षिक चेतना बृद्धि गर्न आवश्यक छ । हामी त्यसमा लागि रहेका पनि छौं ।