• लमजुङ जिल्लाको दुराडाँडा, हाल सुन्दरबजार नगरपालिका– २ मा जन्मिएका मुक्तिनाथ न्यौपानेलाई प्रवेशिका सक्नासाथ दुराडाँडाले मात्रै होइन कि लमजुङ जिल्लाले नै मुक्ति दियो । यो वि.सं. २०४३ को कुरा हो । मिलेसम्म जागिर गर्दै उच्चशिक्षा पनि अध्ययन गर्नुपर्छ भन्ने चाहना मनमा लिएर लमजुङबाट मुक्ति भई हिँडेका मुक्तिनाथ न्यौपाने चितवन आइपुगे । त्यतिबेला पढ्नको लागि हालको जस्तो जताततै कलेजहरुको व्यवस्था थिएन । चितवनको टाँडीमा अवस्थित शहीद स्मृति कलेजमा आइकम पढ्न भर्ना भए । त्यहाँ दुई वर्षको अध्ययन सकेपछि फेरि पनि त्यहाँ बसिरहन मिलेन, अर्को यात्रा तय गर्नुपर्‍यो राजधानीको । राजधानी आइसकेपछि उच्चशिक्षा अध्ययन, सरकारी या प्राइभेट क्षेत्रको सेवा अथवा वैदेशिक रोजगारीको तय यस्तै कुराको निक्र्योल हुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट आईकम अर्थात् प्रविणता प्रमाणपत्र तह उत्तीर्णको सर्टिफिकेट हातमा लिएर राजधानी भित्रिएका मुक्तिनाथलाई बीकमको पढाइ र सरकारी जागिरको मेसो एकैपटक मिल्यो । लोकसेवा आयोगको पहिलो परीक्षाबाट नै मुक्तिनाथ हुलाकको खरदार बने । हुलाकमा तीन वर्ष खरदार हुँदा शंकरदेव कलेजबाट उनको बीकमको पढाइ पनि सकियो, सर्टिफिकेट हात परेको थिएन । उता लोेकसेवा आयोगले लेखाअधिकृत मागिहाल्यो । त्यसमा सामेल भएका मुक्तिनाथ खरदारबाट नायब सुब्बातिरको बढुवामा होइन कि हुलाकको खरदारको जागिरबाट मुक्ति पाउँदै लेखाअधिकृत अर्थात् ‘लेखा अधिकार’ बने २०५३ मा । लेखा अधिकृत बनेर उनी पहिलो पटक पुगे डोटी जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा । डोटीपछि, दार्चुला, दार्चुलापछि दाङ, दाङपछि बैतडी जिल्लाहरुमा सेवा दिँदै रहे । मुक्तिनाथलाई योचाहिँ जिल्लामा मलाई सरुवा मिलाइदिनुपर्‍यो भनेर निवेदन दिएको र कसैलाई भनसुन गरेर सरुवा मिलाएको अहिलेसम्म थाहा छैन ।

    एउटा सरकारी कर्मचारीले अर्गनाइजेसनलाई जहाँ आवश्यक पर्छ त्यहीँ पुग्नुपर्छ भन्ने मान्यता लिएका मुक्तिनाथ बैतडी कोलेनिकाबाट चितवन आइपुगे । चितवनमा ६–७ वर्ष बसेपछि स्वतः बढुवामा कृषि विभाग काठमाडौंमा उपसचिव हुन पुगे । त्यसपछि स्वास्थ्य मन्त्रालयमा उपसचिव हुँदै अहिले मुक्तिनाथ न्यौपानेको जिम्मेवारी सरकारी सेवामा निवृत्तिभरण (पेन्सन) अर्थात् निवृत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरको कार्यालय प्रमुखको रुपमा आइपुगेको छ । मुक्तिनाथ न्यौपानेको जसरी आफ्नो जीवन छिप्पिएर बुढ्यौलीतिर जाँदैछ उनको अहिलेको सङ्गत पनि त्यस्तै पुराना मान्छेहरु जो लामो समय सरकारी सेवामा रहेका र अहिले निवृत्तिभरण अर्थात् पेन्सन भएकाहरुको गुनासो सुन्ने र तिनीहरुको व्यवस्थापन गर्ने कार्यमा बितिरहेको छ । सरकारी सेवामै कार्यरत रहँदा यही सेवाबाट निवृत्त भएकाहरुको गुनासो सुन्ने निकायमा रहन पाउनु पनि मुक्तिनाथका लागि गतिलो सवक पनि बन्न सक्छ । यस पटक जनप्रशासनका लागि निवृत्तिभरण व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख मुक्तिनाथ न्यौपानेजनप्रशासन संवाददाता केदार आचार्य विच भएको कुराकानीः

    सरकारी सेवामा सेवा निवृत्त भएपछि निवृत्तिभरण पाउने चलन विश्वमा सबै देशमा एकै किसिमको हुने हो ?
    वास्तवमा जीवनको लामो समय एउटै क्षेत्रमा सेवा गरिरहेका कर्मचारीहरुलाई उनीहरुको निवृत्त जीवन पनि सहज होस् भन्ने हेतुले त्यस्ता पूर्वकर्मचारीलाई निवृत्तिभरणको व्यवस्था गरिएको हुन्छ । यो आफ्नो देशको ऐन–नियमअनुसार हुन्छ । अमेरिका, फ्रान्सजस्ता विकसित देशहरु जहाँ राष्ट्रप्रमुख परिवर्तन हुनासाथ राष्ट्रमुखले चाहँदा टोटल कर्मचारी प्रशासनलाई नै परिवर्तन गर्न सक्छ । त्यहाँ हायर एण्ड फायरको व्यवस्था हुन्छ, त्यहाँ पनि निश्चित समय सेवा गरेका कर्मचारीलाई पेन्सनको व्यवस्था हुन्छ । उनीहरुको सेवा अवधिमा सामाजिक सुरक्षा कोषलगायत थुप्रै विषयमा कर लिइएको हुन्छ । अनि यति वर्ष सेवा गरेको कर्मचारीलाई यति सुविधा भन्ने किटान गरिएको हुन्छ । कर्मचारीको सेवा अवधिमा नै उसँग राज्यले विभिन्न कर लिएको हुन्छ र सेवानिवृत्ति भएपछि त्यसैलाई फेरि फर्काउने चलन हुन्छ । हामीकहाँ राष्ट्रप्रमुखको परिवर्तनसँगै निजामती प्रशासन पनि परिवर्तनको व्यवस्था छैन । यहाँ निश्चित समय सेवा गरेको कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था गरिएको हुन्छ ।

    नेपालका निजामती, शिक्षक, जङ्गी, प्रहरी सेवामा कार्यरत कर्मचारी आफ्नो जीवनमा सेवा निवृत्त भएर आइपुग्ने पहिलो कार्यालय नै यही हो ?
    त्यस्तो होइन, यी हरेक सेवामा सेवा गर्ने कर्मचारीको आ–आफ्नै कितावखाना हुन्छन् । निजामती किताबखाना, शिक्षक किताबखाना, प्रहरी र सेनाको पनि आफ्नै कितावखाना हुन्छन् । जब कर्मचारी सेवानिृत्त हुन्छ सम्बन्धित कार्यालयका कितावखानाहरुले सेवा निवृत्त कर्मचारीहरुलाई उनीहरुले पाउने निवृत्तिभरण तोकेर पेन्सन पट्टा बनाइदिएर यस कार्यालयमा पठाइदिन्छन् । उनीहरुलाई कुन जिल्लाको कुन ठाउँबाट पेन्सन झिक्न सजिलो हुन्छ त्यसको जानकारी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई गराउँछन् र निवृत्तिभरण व्यवस्थापन कार्यालयले उनीहरुलाई सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेडमार्फत् रकम व्यवस्था गरिदिन्छ । यति मात्र होइन, कुनै पूर्वकर्मचारी बसाईं स¥यो या बसाइका सिलसिलामा एकठाउँबाट अर्को ठाउँमा पुग्यो तर पेन्सन जहाँको त्यहीँ छ भने पनि त्यसलाई सार्न पनि पूर्वकर्मचारी यस कार्यालयमा आउनुपर्छ ।

    निवृत्तिभरण व्यवस्थापन कार्यालयको अन्य कामहरु के के हुन्छन् सर ?
    सेवानिवृत्त कर्मचारीको बहालवाला कर्मचारीहरुको तलब वृद्धि हुनासाथ यता पनि पेन्सन वृद्धि हुन्छ । त्यसको व्यवस्थापनको जिम्मा पनि निवृत्तिभरण व्यवस्थापन कार्यालयको हुन्छ । कर कट्टी गर्ने काम हुन्छ, त्यस्तै उनीहरुको ग्रेडवृद्धिलगायत सेवानिवृत्त कर्मचारीको निधन भयो, अब त्यो पेन्सन श्रीमतीको नाममा सार्नुपर्ने भयो भने पनि सम्बन्धित जिल्लाको कोलेनिकाले निवृत्तभरण कार्यालयलाई पत्र पठाइदिन्छ र त्यही पत्रको आधारमा पेन्सन व्यवस्थापन गर्ने दायित्व यस कार्यालयलाई हुन्छ । समग्रमा जति पनि सेवा निवृत्त कर्मचारी छन् तिनीहरुको पेन्सनको व्यवस्थापन अर्थात् निवृत्तिभरणको व्यवस्थापन यसै कार्यालयबाट हुन्छ । यो कार्यालयमा सेवाग्राही उपस्थिति भएपछि १५ मिनेटभित्रमा सेवाग्राही आफ्नो काम सकिएर फर्किन्छ । त्यस्तो सफ्ठवेयर हामीसँग छ । अर्को कुरा हामी घडी हेरेर १०–५ भन्दैनौं । सेवाग्राही हाम्रो कार्यालयमा आइपुगेको छ भने साँझ ६ सम्म पनि हामी कार्यालयमा बसेर सेवाग्राहीको काम तमाम गरेर पठाइदिन्छौं ।

    हाल नेपालमा निवृत्तिभरण पाउने पूर्वकर्मचारीहरुको यकिन संख्या कति छ र उनीहरुको लागि राज्यले कति बजेट छुट्याउनुपर्छ ?
    अहिले नेपालमा सेवानिवृत्त कर्मचारीको संख्या झण्डै २ लाख ९० हजार जति छ । हरेक वर्ष पेन्सनको दायित्व १२–१३ प्रतिशतले बढ्छ । पेन्सनमा मात्र २०६९/०७० मा १६ अर्ब रुपियाँ खर्च भएको थियो भने त्यसको चार वर्ष अर्थात् २०७३/०७५ मा यसको दायरा बढेर दोब्बर भयो । यो अवधिमा ३१ अर्ब ५० करोड रुपियाँ खर्च भयो । २०७५/०७६ मा ४६ खर्ब खर्च भएको थियो भने आव २०७७÷०७८ मा राज्यले झण्डै ६० अर्ब रुपियाँ त पेन्सनको लागि खर्च गर्नुपर्ने हुन्छ ।

    निवृत्तिभरण व्यवस्थापन कार्यालयमा कामको चाप कत्तिको हुन्छ ? यसमा पनि प्रेसर वा दबाव झेल्नुपर्ने अवस्था हुन्छ कि स्वतन्त्र किसिमले नै काम गर्न पाइन्छ ?
    होइन यो २ लाख ९० हजार सेवा निवृत्त कर्मचारीको मासिक पेन्सनको व्यवस्था गरिदिने कार्यालय भएकाले कामको चाप कति होला त्यसको अनुमान त जोकोहीले पनि गर्न नसक्ने कुरै भएन । त्यसमाथि पनि आफू ठूलो ओहोदामा रहेर सेवा निवृत्त भएका कर्मचारीहरुको गुनासो पनि यही कार्यालयमा आइपुग्छ । मानौं न एकजना न्यायालय सेवामा सेवा गरेका पूर्वन्यायाधीश जो रिटायर्ड भएका छन् उनलाई त पेन्सन थाप्न दुई दिन मात्र ढिला भयो भने पनि त्यो कुरा सह्य हुँदैन । त्यस्तो गुनासो सबैले गर्छन् पेन्सनको बारेमा गुनासो गर्ने नेपालकै एउटामात्र ठाउँ हो यो ।

    पेन्सनमा त्यस्तो ढिला गर्नुपर्ने के कारण हुन्छ र ?
    सिस्टमले पनि कुनै बेला त्यस्तो हुन्छ । अन्य प्राविधिक कारण पनि त्यस्तो हुनजान्छ कुनै बेला । यद्यपि सरकारको निवृत्तिभरण दिनुपर्ने कर्मचारीलाई दुई दिन ढिला गरिदिउँ भन्ने मनसाय त कहिल्यै हुँदैन, तापनि गर्दागर्दै पनि कुनै समयमा यसो ढिलो हुनपुग्छ । कुनै बेला सफ्टवेयरहरु नै ढिला चल्छन् । त्यस्तो समयमा अत्यधिक प्रेसर आइपुग्छ । सरकारको निर्देशन हरेक महिनाको २५ गतेभित्र पूर्वकर्मचारीलाई पेन्सन पु¥याइसक्नुपर्ने भन्ने हुन्छ । तर सफ्टवेयर ढिला चलेका कारण दुई दिन मात्र ढिला भयो भने पनि के कारण यस्तो भयो भन्ने प्रश्न हामीमाथि आइपुगिहाल्छ ।

    नेपालमा कति स्केलबाट पेन्सनको सुरुआत हुन्छ र त्यसको अत्यधिक संख्या कति छ ?
    पेन्सनको शुरुआत १०–१२ हजारबाट हुन्छ, त्यो परिवारमा सर्दा ६–७ हजारबाट पनि सुरु हुन्छ र यसको ठूलो दायरा भनेको नेपाल सरकारबाट सेवा निवृत्त भई ८२ हजारसम्म पेन्सन लिने सेवानिवृत्त कर्मचारीसम्म छन् ।

    कुन सेवाबाट निवृत्त भएका कर्मचारीहरु बढी प्रेसर दिने खालका हुन्छन् ? यो निवृत्तिभरण व्यवस्थापन कार्यालयमा कार्यालय प्रमुखको रुपमा आइपुग्दा यहाँले त्यसको केही अनुभव गर्नुभयो ?
    त्यस्तो यही क्षेत्रका पूर्वकर्मचारी बढी गनगन गर्ने खालका हुँदारहेछन् भन्ने त ठ्याक्कै हुँदैन । पूर्वराष्ट्रसेवकहरु हुन् । राज्यले उनीहरुलाई राज्यको कुनै प्रशासनिक निकायमा लामो समयसम्म सेवा गरेबापत निवृत्त जीवन पनि सहज होस् भनेर यो सुविधा उपलब्ध गराएको हो । तर न्याय सेवामा लामो समय सेवा गरेका ठूलो ओहोदाका राष्ट्रसेवकहरु जसलाई स–स्यानो प्राविधिक समस्याहरु पनि थाहा हुँदैन, उहाँहरु यसो दुई दिन पेन्सन ढिला हुनासाथ निवृत्तिभरण व्यवस्थापन कार्यालयमा कल गर्नुहुन्छ । इनकेस उक्त कल उठेन भने तुरुन्तै हाम्रो हेड अफिस महालेखा नियन्त्रण कार्र्यालयमा कल गरेर आफ्नो गुनासो पोख्ने गर्नुहुन्छ ।

    राज्यले पूर्वकर्मचारीलाई पेन्सनको व्यवस्था गर्न गारो हुने भयो भन्ने कुरा पनि उठेको थियो । एक पटक त्यसको बारेमा के के हुँदैछ ?
    राज्यका कर्मचारीलाई कर्मचारीलाई तलबै नबढाए पनि आन्तरिक ग्रेडवृद्धि हुँदा नै पनि झण्डै १० अर्ब जति त आन्तरिक बढुवाको प्रक्रियामा खर्च हुन्छ । अझ तलब नै बढेको समयमा २०–३० अर्ब नै बढ्न सक्छ । त्यो अवस्थामा राज्यलाई पेन्सनको भार थाम्न नै गारो हुने हो कि भनेर त्यो कुरा उठेको हो । सरकारले बहालवाला कर्मचारीलाई तलब त दिनैपर्छ त्यति गर्दा नै राज्यलाई चालु खर्च नै धान्न गारो हुने हो कि भनेर पेन्सन हटाउने भन्न कुरा उठेको हो । अब अहिले गत साउन महिनादेखि जति पनि कर्मचारी लोकसेवा मार्फत आएका हुन्छन् तिनीहरुलाई अहिले राज्यले पेन्सन दिएको जस्तो नदिएर उनीहरुले पाउने तलबको १० प्रतिशत काट्ने र राज्यले १० प्रतिशत थपिदिएर २० प्रतिशत उसले पाउने रकमलाई डिपोजिट गर्दै जाने यसरी उसको सेवा अवधि २० वर्ष हुँदा उसको कति रकम जम्मा भयो उसले निवृत्तिभरण हुनेबेला एकमुष्ठ रकम लिएर निस्कने र ऊप्रति राज्यको दायित्व नरहने भन्ने किसिमको तामेल पास भएको छ । पूर्वकर्मचारीलाई पेन्सन हटाउने कुरा तीन–चार वर्षअघि उठेको हो । तर त्यसो गर्दा राष्ट्रसेवकलाई अन्याय हुने पनि उठेकाले त्यो गरिएको छैन । क्रमशः यो प्रवृत्तिबाट पछि हटिरहेको अवस्था चाहिँ छ ।

    यो निवृत्तिभरण व्यवस्थापन कार्यालय सातै प्रदेशमा खोल्ने प्रयोजन छ कि छैन ?
    अब भोलि संघीयता कार्यान्वयन हुँदै जाँदा कुनै पनि कर्मचारी प्रदेशअन्तर्गत भर्ना हुने त्यहीँबाट निवृत्तिभरण हुनुपर्ने भएकाले विस्तारै प्रदेशतिर पनि यो कार्यालय जाला तर अहिलेलाई त्यस्तो केही व्यवस्था छैन ।

    अन्त्यमा, यो कोभिड–१९ को महामारीमा सेवाग्राहीलाई कसरी सेवा प्रदान गरिएको छ ?
    यो झण्डै २ लाख ९० हजार सेवाग्राहीको गुनासो सुन्ने, उनीहरुको व्यवस्थापन गर्ने कार्यालय भएकाले यहाँ सेवाग्राहीको घुइँचो त हुन्छ नै तापनि हामीले नेपाल सरकारले कायम गर्ने भनेको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने सेनिटाइजरको व्यवस्था गरेर नै सेवाग्राहीको सेवा गरिरहेका छौं । अन्त्यमा हामी हाम्रा सेवाग्राहीहरुलगायत स्वदेश तथा विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई यो महामारीबाट जोगिन आग्रह गर्दछु र नेपालीहरुका महान्पर्वहरु दशैं, नेपाल सम्वत्, तिहारलगायत छठपर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।