• तनहुँको स्याम्घा–५ मा जन्मिए पनि बैकुण्ठ न्यौपानेको वाल्यकाल त्यहीको माटो र हावापानीलाई चुम्दै त्यही हुर्कन भने पाएन । कारण बन्यो– बुवाको अदालती जागिर १ त्यसैले स्याम्घा निमाविमा कक्षा ४ को पढाइ चल्दै गर्दा बैकुण्ठ पुगे इलाम, त्यसपछि डोटी यसरी जिल्लाहरु घुम्दाघुम्दै फेरि माविको पढाइ सक्न भने निर्मला मावि, तनहुँमै आइपुगे । प्रवेशिका सकियो । उच्च शिक्षा त्यो पनि ‘साइन्स’ पढ्ने अभिलाशाले राजधानी छिरेका बैकुण्ठले राजधानीमा साइन्स अध्ययन गर्ने अवसर नै पाएनन् । कुरो वि।सं। २०३४ को हो, त्यतिबेला त्रिविले साइन्सको कोटा काठमाडौंलाई नदिएर वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पसलाई दियो, न्यौपानेलाई वीरगन्ज जाने जाँगर चलेन । काठमाडौंमा साइन्स पढ्न नपाएपछि बैकुण्ठ पढ्न पुगे पोखरा, पृथ्वीनारायण क्याम्पसमा । त्यहाँ ‘ल’ को पहिलो वर्षको पढाइ सुरु हुनेवाला थियो र त्यहीँ भर्ना भए । राजनीतिमा चाख, समाजसेवी बन्ने लक्ष्य मनमा थियो तर, पोखराबाट आइएल सकेर घर फर्कंदा बाटैमा न्यौपानेलाई जजनज्योति निमाविमा साइन्स टिचरको नियुक्ति थमाइयो । जतिबेला उनको मासिक तनखा थियो २ सय ५५ रुपैयाँ उनले त्यहाँ पूरा ६ महिना पढाए । त्यसपछि उच्चशिक्षा अध्ययनको लागि राजधानी प्रवेश गरेका न्यौपाने नेपाल ल क्याम्पसमा बीएलमा भर्ना भए र वि.सं. २०४२ मा नेपाली काँग्रेसको नेतृत्वमा आयोजना भएको सत्याग्रहमा गिरफ्तार भई १० महिना जेल परे । जेलबाट छुटेपछि नेपाल ल कलेजबाट बीएल, त्यसपछि राजनीतिशास्त्रमा स्नातकोत्तर र एक वर्षे बीएड पनि सकेपछि २०४५÷०४६ को जनआन्दोलनको सेरोफेरोमा उनी तनहुँकै कुनै माविमा शिक्षक बन्न पुगे ।

    जनआन्दोलनमा सक्रिय भूमिका निभाएका न्यौपानेलाई अर्को संयोग कस्तो पर्‍यो भने राजधानीमा नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई राजाले प्रधानमन्त्री नियुक्ति गरेकै दिन अर्थात् वि।सं। २०४७ वैशाख ४ गतेकै दिन आदिकवि भानुभक्त सामुदायिक क्याम्पस तनहुँमा प्राध्यापनको नियुक्ति दिइयो । त्यसपछि २०४८ साउनदेखि सोही क्याम्पसको क्याम्पस प्रमुख भएका न्यौपानेको त्यो निरन्तरता २०७१ असार मसान्तमा आइपुगेर मात्र पूर्णविराम लाग्यो । प्राध्यापन मात्र पनि होइन, यसबीचमा न्यौपानेको वकालत पेसामा पनि निरन्तरता थियो मात्र होइन कि उनी वरिष्ठ अधिवक्ता समेत हुन् । त्यस्तै, देशभरिका कम्युनिटी कलेजहरुको वैचारिक संघसंस्थाको निरन्तर ६ वर्षसम्म ‘प्रेसिडेन्ट’ पनि भए न्यौपाने । त्यो समयमा मुलुकका प्रधानमन्त्री र शिक्षामन्त्रीहरुसँग मुलुकको शैक्षिक सुधारको निम्ति उनको नेतृत्वमा थुप्रै प्रयत्नहरु पनि भए । सामुदायिक कलेजहरुले पनि समाज विकासमा ठूलो योगदान पुर्‍याउँछन् भन्ने विषयमा ‘वल्र्ड बैंक कन्भेन्स’ भयो । त्यही समयमा सामुदायिक क्याम्पसहरुमा Quality Assurance Agency सुरुआत भयो । यसलाई नेपालीमा ‘गुणस्तर प्रत्यायोजन’ भनिन्छ । सदरमुकामहरुमा सञ्चालित ठूला कलेजहरुले पाउने त्यो गुणस्तरीयता पहाडको गाउँमा सञ्चालित आदिकवि भानुभक्त कलेजले पनि प्राप्त गरेको थियो । यसरी हरेक प्रयासमा सफलता प्राप्त गरेका न्यौपाने २०७१ पछि क्याम्पस प्रमुखको जागिर छोडी नेपाली काँग्रेसको तनहुँ जिल्ला सभापति बने त्यसअघि उनी नेविसंघको तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष र ३०–३२ वर्षको उमेरमै नेपाली काँग्रेस ब्यास नगरपालिका प्रमुखमा निर्वाचित भए । त्यस्तै न्यौपाने गत स्थानीय निकायको निर्वाचनबाट ब्यास नगरपालिकाको प्रमुखको पदमा निर्वाचित भए । प्राध्यापन, वकालत, राजनीति सबैतिर सफलता प्राप्त गरेका न्यौपानेलाई सङ्घीयताको अभ्यासको पहिलो चरणमा ब्यास नगरपालिकाले अध्यक्षको रुपमा पाउँदा ब्यास नगरपालिकाले पनि सफलता प्राप्त गर्दैछ, तर प्राकृतिक प्रकोपहरु त्यसमा वाधक बन्छन् । अनुभवमा लामो पृष्ठभूमि भएका ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने र जनप्रशासन संवाददाता केदार आचार्यबिच भएको कोरोना महामारीसम्बन्धी कुराकानी:

    प्राध्यापन, वकालत र समाजसेवामा लामो अनुभवपछि नगरपालिको जननिर्वाचित प्रमुख बन्नुभएको छ । रायसुझाव, सल्लाह प्रदान गर्दा र साँच्चैको निर्णायक पदमा पुग्दा के के फरक महसुस गर्नुभएको छ ?
    प्राध्यापनमा आफ्ना विद्यार्थी अनुशासित, लगनशील भएर पढाइलाई अगाडि बढाइदिएर राष्ट्रसेवक बनिदिए हुन्थ्यो भन्ने धारणाले घर गथ्र्यो । वकालतमा आफूले मुद्दा लिएको पक्षकाले मुद्दा जितिदिए हुन्थ्यो भन्ने लाग्थ्यो, यद्यपि वकालतमा पनि मेरो धारणा के थियो भने म मुद्दाको प्रकृति हेरिसकेपछि अब यो मुद्दा यस्तो हुन्छ है भनेर म प्रस्टै बताइदिन्थें । यो मुद्दामा यतिभन्दा बढी आशा नगर्नुस् भनेर प्रष्टै भनिदिन्थें । धेरै मुद्दाहरुमा तथ्य र इथिक्समा आफ्ना तर्कहरु राख्दा धेरै नै पटक त आफ्ना विपक्षी साथीहरु पनि तपाईंले यो मुद्दा लिनुभएको रहेछ, त्यसमा भएका अन्यायहरु यस्ता–यस्ता छन् भनेर सबै कुरा मलाई भन्थे र म त्यो पक्षमा धर्म निर्वाह गर्थें । त्यस्तै, २३ वर्षसम्म लगातार क्याम्पस प्रमुख बन्दा पनि मैले प्रमाणपत्र तहको पढाइ सुरु भएको कलेजलाई डिग्रीसम्म अध्ययन गर्ने बनाएँ । त्यस्तै क्याम्पस भवन र छात्रावास निर्माणको लागि पनि सहयोगहरु जुटाइयो । यसरी कलेजले सफलता प्राप्त गर्दै गयो । समाजमा पनि आफ्नो छवि निष्कलंक जस्तै बन्यो ।

    जनाअन्दोलन २०६२/०६३ को सफलतापछि मलाई तनहुँ जिल्लास्थित ब्यास नगरपालिकाका जनताले नगर प्रमुखको रुपमा निर्वाचित गर्नुभयो । हो, पहिला सल्लाह, सुझावहरु दिने निकायमा हुँदा र अहिले निर्णायक निकायमा पुग्दा पनि के लाग्छ भने पहिला पनि सत्य–तथ्य, इमान निष्ठाले काम गरेजस्तै यहाँ पनि सत्य, इमान र निष्ठा हुन्छ र त्यहीअनुसारको निर्णय गर्ने गरिन्छ । तर यो नगरपालिकामा मेयर निर्वाचित भएर आइसकेपछि सानोसानो कुरामा पनि प्रत्यक्ष सहभागी भएर मानिसहरुलाई कुरा बुझाउनुपर्ने हुँदोरहेछ, सस्यानो कुरालाई पनि वास्ता गरेन भने ‘हामीले त तपाईंलाई भोट हालेको पो हो त हाम्रो यति काम पनि नगरिदिने’ भनेर आउनुहुन्छ, त्यो काम गर्न सिद्धान्तले नै मिल्दैन । हो अहिले यस्तो स्थिति पनि हामी झेलिरहेका छौं । झ्न यो पछिल्लो समय त हाम्रा निरन्तर चलिरहेका विकास निर्माणका अभियानमा पनि यो कोविड–१९ र प्राकृतिक विपत्हरु बाधकका रुपमा आएका छन् । जसले पैसा र शक्ति त्यतै खर्चिनु पर्‍यो । त्यसैले मानिसहरुले अपेक्षा गरेका कुराहरु पूर्ण गर्न नसकिरहेको जस्तो अनुभव भइरहेको छ ।

    कोविड–१९ को महामारीमा तनहुँ जिल्लाका गाउँपालिका, नगरपालिकाहरु मिलेर पीसीआर मेसिन किन्ने निर्णय भएको थियो । त्यो निर्णय कार्यान्वयन भयो ?
    तनहुँ जिल्लाको पहिलो सामुहिक प्रयास हो यो । त्यस्तो निर्णय स्याङ्जाको वालिङले पहिला गरेको हो । हामीकहाँ कस्तो भयो भने भारतबाट आएका जति पनि मानिसलाई हामीले क्वारेन्टाइनमा राख्यौं, १३–१४ दिन क्वारेन्टाइनमा बसेपछि अनि पीसीआर चेक गर्न पठायो तर त्यसको रिजल्ट १२–१५ दिनसम्म पनि नआउने, नआएपछि कस्तो भयो भने विदेशबाट आएका मानिसलाई झण्डै एक महिनासम्म खाना खुवाएर, बस्न दिएर राख्न त्यो सबै व्यवस्थापन मिलाउन निकै गारो भयो । बस्नेहरु पनि अति नै आत्तिएर कहिले घर जाउँ जस्तो गर्न थाले । पीसीआरको रिपोर्ट पठाएको छ, रिपोर्ट नै आउँदैन । यो प्रक्रियाबाट दिक्क भएर हामी आफैं मेसिन किनौं भनेर हामीले त्यो पृष्ठभूमिमा निर्णय गरेका थियौं । पछि पोखरामा पीसीआर मेसिन थपियो । यता हामीले त्यस्तो मेसिन ल्याउन प्रदेश सरकारको अनुमति लिनुपर्ने, त्यसको लागि छुट्टै ल्याब, भवनहरु चाहिने, त्यहीअनुसारको जनशक्ति चाहिने, मेसिन मात्र खरिद गरेर त नहुने रैछ । यो सबै प्रोसेस मिलाउन त अलिक अफ्ठेरो नै रैछ । फेरि यो सरकारी संस्थाहरुको खरिद प्रक्रिया असाध्यै लामो छ । यो सबै प्रक्रिया पुर्‍याउँदा हामीलाई त्यो मेसिन ल्याउन दुई–तीन महिना नै लाग्नेभयो । त्यहीबीचमा पोखराले पनि आफ्नो क्षमता बढायो र छिटो छिटो रिपोर्टहरु दिनथाल्यो । क्वारेन्टाइनमा पनि मानिसहरु घट्दै जान थाले ।

    त्यसैले हामीले अब मेसिन जरुरी छैन भन्ने महसुस गर्‍यौं । बरु अब यो कोरोना समुदायमा फैलिने अवस्था देखिएकोले पीसीआर मेसिन किन्ने पैसा हामीले जीपी कोइराला अस्पतालमा ५० बेडको अर्को अस्पताल निर्माणको निम्ति खर्च गर्दै छौं । त्यहाँ ५० बेड क्षमताको अस्पताल सञ्चालनमा नै छ अब हामी स्थानीय तह मिलेर त्यहीँ नै अर्को ५० बेडको अस्पाल थप्दै छौं । जीपी कोइराला अस्पतालको झण्डै सात सय रोपनी आफ्नै जमिन छ र त्यो अस्पतालमा ११ औं तहका डाक्टरहरु पनि छन् । त्यसलाई नै व्यवस्थित रुपमा विकास गरिरहेका छौं । अर्को हामीले ब्यास नगरपालिका भित्र जहाँ कृषि विकास बैंकको भवन थियो, त्यसलाई उहाँहरुले एउटा बोर्डिङलाई भाडामा दिनुभएको थियो । विद्यालय बन्दपछि त्यो भवन खाली भयो । त्यसमा हामीले करिब ६० बेडको आइसुलेसन बनाएर चलाएका छौं । त्यस्तै ब्यास नगरपालिकाले चलाएको अर्को पहिला कृयापुत्री भवन थियो, पछि हामीले त्यसलाई मानव सेवा भवन भनेका छौं त्यहाँ एटेच ट्वाइलेट, बाथरुमहरु पनि छन् त्यसलाई पनि हामीले १६ बेडको आइसुलेसन बनाएका छौं र त्यहाँका बिरामीलाई दमौली अस्पतालले हेर्ने व्यवस्था मिलाएका छौं ।

    ब्यास नगरपालिकामा कोविड–१९ बाट प्रकोप हुनेको संख्याचाहिँ कति पुगेको छ नि ?
    ६८ जना संक्रमितहरु छन् । यसमा ठीक भएर फर्कने संख्या पनि उच्च नै छ ।

    अरु अवस्था कस्तो छ संक्रमितहरुको ?
    हामीकहाँ पहिला आइसुलेसनको व्यवस्था मिलाउन नै सकिएन । जीपी कोइराला अस्तालले पहिला ३० बेडभन्दा माथि आइसुलेसन छैन र सकिन्न भन्यो । दमौली अस्पतालमा राख्ने ठाउँ नै छैन । सुरुमा त हामीलाई पनि यो कृयापुत्री भवन उपलब्ध गराउने सोचाइ नै आएन । कृषि विकासको भवनमा बोर्डिङ चलिरहेको थियो, त्यो सम्भव नै भएन । अनि नयाँ संक्रमितहरु रिसिङ गाउँपालिकामा एक्कै पटक २३ जनाको संख्यामा आयो । जीपी कोइरालामा बेड अभाव भएपछि हामीले आदिकवि भानुभक्त कलेजमा पनि आइसुलेसन बनायौं र त्यहाँ ब्यासलगायत अन्य गाउँपालिकाका गरी ५५ बिरामी राखेर ती बिरामीलाई ठीक पा¥यौं र अहिले आइसुलेसन क्यान्सिल ग¥यौं । त्यसैले हामीले कोरोनाका झण्डै १ सय १० जनाजतिलाई सन्चो बनाएर पठायौं । अब १५–१६ जना जति आइसुलेसनमा हुनुहोला । अहिले हामी सामुदायिक भवनहरुलाई क्वारेन्टन भवन बनाउन गइरहेका छौं ।

    नजिकिएको चाडपर्वमा मानिसको चहलपहल, बजारको चहलपहल बढ्छ र त्यो अवस्थामा कोरोना संक्रमण झनै फैलन सक्छ, यसको नियन्त्रणको लागि नगरपालिकाले कस्तो योजना बनाएको छ नि ?
    हामीले अब क्षेत्री समाजको भवनलाई पनि आइसुलेसन बनाउने योजना बनाएका छौं अब छिट्टै जीपी कोइराला अस्पतालमा पनि ५० बेड तयार हुन्छ । कतिपय ठाउँमा अलग्गै ट्वाइलेट बाथरुम छ परिवारका अन्य सदस्यसँग नजिक हुनु पर्ने छैन भने त्यस्तोमा हामीले होम आइसुलेसनमा बस्न पनि अनुमति दिएका छौं । परिवारले निगरानी गर्ने र औषधिमूलोको व्यवस्था गरिदिने हो भने त्यस्तो परिवारमा त होम आइसुलेसनमा बस्न दिँदा पनि हुन्छ । बजारको सम्बन्धमा त अब हामीले रोक भनेर सूचना जारी गर्दा व्यापारीहरु नै बिरोधमा उत्रन्छन् । त्यसैले यतिबेला हामीले त बजार, गाडी सबैलाई खुला गरेका छौं ।

    विद्यार्थीको अवस्था कस्तो छ नि, अनलाइन पढाइ कत्तिको प्रभावकारी बनेको छ ?
    हामीले त स्कुलहरु पनि सञ्चालन गरिसक्यौं । सहरबजारका विद्यालय कलेजहरुमा त सम्भव छैन पढाउन, त्यहाँ अनलाइन कक्षाहरु नै सञ्चालन छन् । तर अब गाउँमा थोरै विद्यार्थी भएका ठाउँहरुमा त विद्यालय सञ्चालनमा आएका छन् । एकदेखि १० पढाइ हुने विद्यालय छ । विद्यार्थी जम्मा संख्या ५२ छ भने त्यस्तो स्कुलमा सोसल डिस्ट्यान्स म्यान्टेन गरेर सञ्चालन गरेका छौं । हाम्रो नगरपालिका भित्र पनि स्कुलहरु खुलेका छन् । हामीले त्यस्तो स्कुलमा सिफ्टवाइज गरेका छौं । स्कुलहरु तीन घण्टा मात्र खोल्ने, बीचमा ब्रेक नगर्ने, लगातार पढाउने र दैनिक तीन सिफ्ट पढाउने व्यवस्था मिलाएका छौं । विद्यालय सञ्चालनको लागि हामीले एउटा मापदण्ड बनाएका छौं ।

    शिक्षा मन्त्रालयले त अहिले विद्यालय खोल्न हतार नगरौं भनेको होइन र ?
    संक्रमण कम भएको ठाउँमा स्थानीय तहले व्यवस्थापन गरेर विद्यालयहरु खोल्न भन्ने अनि व्यक्तिगत रुपमा विद्यालय नखोल्नू मात्रै भनेर त त्यसले के अर्थ राख्छ र रु स्थानीय तहको प्रत्यक्ष निगरानीमा प्रकोप कम भएको ठाउँमा पढाउनुस् भनेर निर्देशिका नै जारी गरेको छ त शिक्षा मन्त्रालयले ।

    महामारी बढिरहेको समय हुनाले व्यास नगरपालिकाको समग्र विकास निर्माण अनि प्रगतिको विषयमा कुराकानी गरिएन । अब अन्त्यमा, यो प्रकोपमा नगरवासीलाई के अनुरोध गर्ने हो त प्रमुखज्यू ?
    यो कोविडको प्रकोपमा सावधानी, सचेतना, सतर्कता हामीले अपनाउनु जरुरी छ । त्यसको हामीमा कमी देखिएको छ । अर्को हरेक व्यक्तिले आफूलाई नपर्दासम्म अरुलाई घृणा गर्ने वातावरण पनि बनिरहेको छ । यो सामाजिक घृणाको चरमउत्कर्षमा अहिले हामी छौं । यो विषयमा हामीले सबैलाई मानवीय हिसाबमा सोचिदिनुपर्छ र यसको प्रकोपबाट सुरक्षित हुने प्रयत्न गर्नुपर्छ । नागरिक स्वयम्ले सावधानी नपअनाउने हो भने प्रकोप नियन्त्रणमा आउन एकदमै गाह्रो हुन्छ । यस्तो विषयमा ध्यान दिनुहुन म ब्यास नगरपालिका मात्र होइन, तनहुँ जिल्लाकै र अझ देशकै सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरुलाई आग्रह गर्दछु । यो रोग आफूलाई नपरुन्ज्याल मात्र मजाकका विषय हो । यसले सतायो भने यो अत्यन्तै डरलाग्दो रोग हो । त्यसैले हामी स्वयम् सचेत बनौं भन्न चाहन्छु ।