• तनहुँमा जन्मिएका शाालिकराम पौडेललाई विद्यार्थी कालदेखि नै पशुपालन व्यवसाय, पशुरोग, पशुआहारमा विशेष रुचि थियो । तर त्यो समयमा व्यवसायिक रुपमा पशुपालन गर्ने चलन थिएन । बरु त्यतिबेला भेटनरी जे.टि.ए. पढेर पशुपालनमा प्राविधिक सेवा दिन सकिन्थ्यो । त्यसको लागि त्यही विषयको तालिम लिएपछि रोजगारी पाउन सजिलो हुन्थ्यो । त्यस समयमा पशुविज्ञान सम्बन्धी पढ्न कोटाअनुसार जिल्ला–जिल्लाबाट राजधानीको त्रिपुरेश्वरस्थित कृषि तथा पशु विज्ञान तालिम केन्द्रमा आउनुपथ्र्यो । शालिकराम प्रवेशिका उत्तीर्ण गरेपछि तनहुँबाट कृषि तथा पशु विज्ञान तालिमको लागि छनौट भई राजधानी आइपुगे ।

    कृषि तथा पशु विज्ञान तालिम केन्दबाट अध्ययन सकेर वि.सं. २०४२ भाद्रबाट पशु चिकित्सालय वीरगञ्ज पर्सामा नायब प्राबिधिक सहायक पदमा नियुक्ति भई जागिरे बने । पौडेलले जागिरको सिलसिलामा बारा, पर्सा, रौतहट, दोलखा, मकवानपुर र चितवनमा रही पशु सेवा प्राविधिकको रुपमा किसानको सेवा गर्दै आएका छन् । पौडेल विगत ३० वर्षदेखि पशु सेवा क्षेत्रमै कार्यरत रहेका छन् । चितवन देशकै ठूलो पशुपालन व्यवसाय गर्ने स्थानको रुपमा अर्थात् ‘पशु हव’ को रुपमा विकास हुँदैछ । अहिले चितवन कुखुरापालन व्यवसायमा देशमै अग्रणी स्थानमा छ । त्यस्तै गाईपालन फर्म पनि सम्भवतः देशकै सबैभन्दा बढी चितवनमै छ । भैंसीपालन, माछापालन बङ्गुर पालन क्षेत्रमा पनि अन्यत्रको दाँजोमा चितवन जिल्ला अग्रणी नै छ ।

    चितवनमा दैनिक २ लाख ५० हजार लिटर दूध, प्रशस्त मासु र अण्डा उत्पादन हुन्छ । जुन उत्पादन नेपालका प्रायः सबै सहर बजारमा पुगेकै हुन्छ । पशुरोग, पशुआहारा, पशुपालनको विषयमा लामो अनुभव हासिल गरेका शालिकराम अहिले रत्ननगर नगरपालिकाको पशु पक्षी शाखामा आठौं तहको प्राविधिक सेवाअन्तर्गत शाखा प्रमुखको रुपमा कार्यरत छन् । यसपटक जनप्रशासनका लागि केदार आचार्य र अधिकृत शालिकराम पौडेलवीच भएको कुराकानीको सार:

    सरको लामो अनुभव यही क्षेत्रमा भएकाले पहिला पशुपालनको महत्वको विषयमा नै केही भनिदिनुहोस् न ?
    ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भन्ने उखान हामीकहाँ चलनचल्तीमा छ । यसको वास्तविक अर्थ यसरी पनि लगाउँ: नेपाल हिमाल, पहाड र तराईको फरक–फरक हावापानी भएको देश । यहाँ अन्य पेसा–व्यवसायलाई छाडेर पशुपालनमात्र गर्ने हो भने पनि मनग्ये आम्दानी हुन्छ । त्यति मात्र होइन, पशुपालन व्यवसायको चौतर्फी महत्व छ । दूध र मासु मात्र होइन, पशुको मलको महत्व यहाँ के उल्लेख गरिरहनुपर्‍यो र ! रासायनिक मलले माटोको उर्वरा शक्ति घटाउँछ तर पशुको मलले माटोको उर्वरा शक्ति बढाउँछ र जोगाउँछ । फेरि रासायनिक मलबाट उत्पादित अन्नले मानिसलाई रोगी बनाउँछ । तर पशुमलमा उत्पादित अन्नले कहिल्यै पनि रोगी बनाउँदैन । यति मात्र होइन, जीवित छउन्ज्याल आम्दानीको स्रोत हुन्छ पशुपालन व्यवसाय र मरेका पशुको छाला र हाडबाट पनि फाइदा लिन सकिन्छ । यस्तो व्यवसाय हो पशुपालन व्यवसाय । वास्तवमा लगनशील भएर आधुनिक शैलीमा पशुपालन व्यवसाय मात्रै गर्ने हो भने थोरै आम्दानीको लागि विदेशी मरुभूमि कुनै पनि नेपालीले जार्नुपर्छ जस्तो लाग्दैन ।

    चितवन पोल्ट्रीको लागि त मुख्य ठाउँ नै हो । अहिले त्यसको अवस्था कस्तो छ ?
    हो, चितवन पोल्ट्रीको राजधानी नै हो । यो जिल्लामा १५ लाखभन्दा बढी लेयर्स र झण्डै ६ लाखजति ब्रोइलर कुखुरा पालन गरिन्छ । लेयर्स ह्याचरीबाट प्रतिहप्ता १ लाख चल्ला उत्पादन गर्ने क्षमता छ भने ब्रोइलर ह्याचरीबाट प्रतिहप्ता ६ लाख ब्रोइलर चल्ला उत्पादन हुनसक्छ । यहाँ दैनिक १२ लाख अण्डा र झण्डै ५० हजार केजीसम्म मासु उत्पादन गर्न सक्ने क्षमता छ । चितवनमा ७० वटा ह्याचरी र २५ वटा दाना उद्योग छन् जसबाट दैनिक ४०० मे.टन दाना उत्पादन हुन्छ । चितवनमा कुखुरापालनको लागि भनेर २० अर्बभन्दा माथि नै खर्च भइसकेको छ । तर, अहिले कोविड–१९ का कारण यो क्षेत्रलाई पनि ठूलो समस्या आइपरेको छ । उद्योगीहरुको लगानी डुबेको छ, यथेष्ट उत्पादन हुन सकेको छैन र उत्पादित वस्तुले पनि बजारको पहुँच पाएको छैन । कामदारहरु छैनन् । त्यसैले यति बेलाचाहिँ चितवनको पोल्ट्री व्यवसाय पनि धरासायी नै रहेको छ ।

    पशु सेवा विभागले स्थानीय स्तरमा के कति कामहरु गर्न सक्छ ?
    संघ, प्रदेश र स्थानीय तह गरी तीन भागमा विभाजित भएपछि अहिले हरेक स्थानीय तहसम्म पशु सेवाको कार्यक्रम पुगेको छ । प्रत्येक स्थानीय तहमा यसको शाखा रहेको छ । यसको काम किसानका पशुहरु बिरामी परे त्यसको उपचार गर्नु, नश्ल सुधार तथा संरक्षण गर्नु, किसानलाई पशुपालनसम्बन्धी प्राविधिक सरसल्लाह दिनु रहेको हुन्छ । यसका अलावा कुनै किसानले पशुपालन व्यवसाय गर्न चाहेमा उनीहरुलाई पशुपालन सम्बन्धी तालिम दिनु, गोष्ठीहरुको आयोजना गर्नु, पशु बीमा कार्यक्रममा सहयोग गर्नु, बजारिकरणमा सहयोग गर्नुका साथै कृषकलाई यथेष्ट मात्रामा प्राविधिक परामर्श दिनु पनि रहेको हुन्छ । मूलतः स्थानीयस्तरमा स्थापना भएको पशु सेवा कार्यालयको मुख्य काम भनेको स्थानीय स्तरमा स्वस्थ पशु उत्पादन गर्नु नै रहेको हुन्छ । स्वस्थ पशुबाट पाइने सबै चिज स्वस्थ नै होउन् भन्ने यसको उद्देश्य रहेको हुन्छ ।

    पहिलाको तुलनामा पशुपालन व्यवसायमा किसानको आकर्षण घट्दै गएको हो ?
    त्यस्तो होइन । अहिले यो कोविड–१९ का कारण केहीमात्रामा नैराश्यता बढ्कोजस्तो मात्र देखिएको हो । अर्को कुरा, हाम्रो समाजमा निर्वाहमुखी पशुपालन हुन्थ्यो एउटा भैंसी, एउटा गाई, एक हल गोरु, केही कुखुरा यस्तो चलन चाहिँ घटेकै हो । तर, अहिले त्यस्तो छैन । व्यवसायिक हिसाबले फर्म खोलेर सयौंको संख्यामा गाईपालन, भैंसी पालन, बाख्रापालन, बङ्गुरपालन, माछापालन र त्यस्तै लाखौंलाखको संख्यामा कुखुरापालन गरी ठूलो लगानीमा व्यवसाय सुरु भएको छ । यो ब्यवसायमा किसानको करोडौं होइन कि चितवनमा मात्र अर्बौंको लगानी छ । यो रत्ननगर नगरपालिकामा मात्रै दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुन्छ । चितवनमा उत्पादित दूध, माछा–मासु नेपालका सबैजसो सहरबजारमा पुग्छ । त्यसैले पहिलाको तुलनामा घरघरमा थोरै पशु पाल्ने तिनैको रेखदेखमा रहने होइन कि अहिले फर्म खोलेरै पशुपालन गर्ने प्रचलन बढेको छ । रत्न नगर नगरपालिका त व्यवसायिक पशुपालनमा अग्रणी स्थानमै रहेको छ ।

    पशुपालनको लागि आवश्यक दानापनी सरकारी तवरबाटै उत्पादन हुन्छ कि यसकालागि चाहिँ प्राइभेट फर्महरुकै भर पर्नुपर्ने हो ?
    दुग्ध विकास संस्थानले हेटौंडाबाट पशुआहार (सन्तुलित दाना) पनि उत्पादन गर्छ । कतिपय दुग्धउत्पादक सहकारी संस्थाले आफैं दाना उत्पादन गर्छन् । प्राइभेट सेक्टरबाट पनि पशुपक्षीको सन्तुलित दाना उत्पादन हुन्छ । पशु आहारको लागि घाँस–परालहरु किसानको खेतबारीमै उत्पादन हुन्छ । कसैले पशुपालनलाई पेसा बनाउँछ कसैले दाना, या घाँस उत्पादनलाई पनि व्यवसाय बनाउन थालेका छन् । पशुपालनमा लागत खर्च कम गराउन नसक्नु मुख्य समस्या रहेको छ । यसको लागि आधुनिक मेसिनरिको प्रयोग, सन्तुलित आहारामा घाँसखेतिलाई विशेष जोड दिनुपर्दछ । अहिले चितवनमा पशु आहारमा हरियो घाँस र कमैबाट साईलेजक बनाइ प्रयोग गर्ने प्रबिधि बढ्दो छ । यसले गर्दा सन्तुलित आहाराको अभाव कम हुने, दाना चोकरको खर्च कम हुन गै उत्पादन लागत खर्चमा वचत भएको छ ।

    पशु पक्षी शाखा प्रमुखको हैसियतले किसानसम्म पु¥याउनुपर्ने केही कुराहरु बाँकी छन् यहाँसँग ?
    त्यस्तो व्यक्तिगत कुरा त के हुनु र हामीसँग, पशुपालन व्यवसायसँग सम्बन्धित जस्तो नीति सरकारले तय गर्छ हामी त्यसैलाई कार्वान्वयन गराउने प्राविधिक हौं । तापनि मलाई के लाग्छ भने अहिले हामीकहाँ पशुपालन व्यवसायको भविष्य एकदमै उज्ज्वल छ । पशुपालनको लागि चाहिने सबै किसिमका खाद्यवस्तुहरु यहाँ पाइन्छन् । पशुबाट उत्पादित सामानको बजार पनि यहाँ छ । सरकारले पनि पशुपालन व्यवसायलाई बढावा दिनको लागि सरल ब्याजमा ऋण उपलब्ध गराउँछ । यतिमात्र होइन, सरकारी तवरबाट नै पशुपालनसम्बन्धी, सल्लाह सुझावहरु दिइन्छ, पशुरोगहरुको उपचारको लागि अहिले स्थानीयस्तरमा नै पशु सेवा केन्द्रहरु खुलेका छन् । सरकारी तबरबाट नै पशु बीमामा अनुदानको व्यवस्था गरिएको छ ।

    पशुपालनसम्बन्धी सबै सुझाव पशुपक्षी शाखाबाट पाइन्छ । त्यसैले नेपाली युवाहरुले साँच्चै लगनशील भएर यो क्षेत्रलाई उद्योग वाव्यवसायका रुपमा प्रयोग गर्न सक्ने हो भने थोरै कमाइका लागि विदेशिनु पर्दैन । जस्तो हामीकहाँ किसानले पशुपालन सुरु गर्‍यो भने कर्मचारीको जस्तै गरी त्यो क्षेत्रबाट पनि आम्दानी लिइरहेको हुन्छ, अझ किसानले त दूधको भुक्तानी पन्ध्रै दिनमा पाउँछ र कुनै भुक्तानी त दैनिक रुपमै प्राप्त गर्न सक्दछ । अब गाउँको कमाइ सहर पठाउने होइन कि बरु गाउँमा पशुपालन व्यवसाय सुरु ग¥यो भने यो पेसाले त सहरको कमाइलाई पनि गाउँतिर तान्न सक्छ । अहिले जग्गा थोरै हुने किसानले पनि घरमा दुईवटा गाई पाल्ने हो भने अरबमा गएर दुःख गरेर कमाएको तलबभन्दा घर परिवारसँगै बसी काम गर्दा त्यहाँको भन्दा बढि नै यहाँ कमाई हुन्छ । त्यसमा अझ केही बाख्रा पनि थप्ने हो भने कमाइ अझ बढ्छ ।

    अब त्यसलाई ठूला व्यवसायको रुपमै गर्न आँट गर्ने हो भने आफूलाई मात्र नभई अरुलाई पनि रोजगारी प्रदान गर्न सकिन्छ । वास्तवमा युवाहरुले मन लगाउने हो भने नेपाल समृद्ध बनाउने एउटा मुख्य स्रोत पशुपालन हुनसक्छ । एउटा कुरा समय–समयमा पशुपालन व्यवसायलाई पनि रोगव्याधीले आक्रान्त बनाउँछ । अन्त्यमा, पशुपालनको लागि उत्पादनशील नश्लको छनौट, पशुहरुमा लाग्ने परजीवीहरुको समयमै नियन्त्रण गर्ने, बिभिन्न सरुवा रोग बिरुद्ध समयमै खोप लगाउने, गोठ व्यवस्थापनमा जैविक सुरक्षा अपनाउने, वातावरणमैत्री बनाउने, पशु बीमा अनिबार्य गर्ने, उत्पादन लागत, खर्च कम गर्ने उत्पादित वस्तु गुणस्तर, स्वस्थ्य, सफा गरेमा यस व्यवसायको भविष्य उज्ज्वल छ ।