• गुल्मी, अर्घाखाँची, पर्वत, कास्की, स्याङ्जा जिल्लाका विद्यार्थीमा प्रवेशिका उत्तीर्णपछि उच्चशिक्षाका साथै लोकसेवा कसरी पास गर्ने भन्ने उत्साहले घर गरेको हुन्छ । कोही निजामती सेवामा प्रवेश गरिसकेका, कोही निजामती सेवाको तयारीमा लागेका हुन्छन्, त्यहाँ मानिसहरुको भेटघाटमा पनि यस्तै कुराहरु हुन्छन् । अर्जुन आवासीय माध्यमिक विद्यालय गुल्मी, तम्घासबाट प्रवेशिका उत्तीर्ण गरेपछि तोपलाल भुसाललाई पनि अब निजामती सेवामा प्रवेश गर्नुपर्छ भन्ने लाग्यो । भुसाल प्रवेशिका उत्तीर्णपछि २०६६ मा निजामती सेवा सुरु गर्न अछाम पुगे । बस्न मन लागेन । घरपायक जागिर खोजेर गृहस्थीमा लागिहाल्ने चाहना थिएन । बरु उच्च शिक्षा अध्ययन गर्ने र उच्च ओहोदाकै निजामती सेवामा पुग्ने लक्ष्य थियो । त्यसैले अछामको जागिर राजीनामा गरी भुसाल राजधानीतिर लागे । राजधानी आई आरआर क्याम्पस पढ्न थाल्दा काठमाडौं महानगरपालिकामा कर्मचारीको माग भयो । भुसालले परीक्षा दिए, नाम निस्कियो त्यसैले महानगरपालिकामा जागिर गर्दै पढाइलाई अगाडि बढाए । आरआर क्याम्पसबाट स्नातकोत्तर गर्दा भुसाल महानगरपालिकाको जागिरबाट बिदा भई निजामती सेवामा प्रवेश गरे राष्ट्रिय महिला आयोगमा । त्यसपछि कर्मचारी समायोजन ऐन आयो, समायोजनमा भुसाल गण्डकी प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालय हुँदै घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा कार्यालय प्रमुख हुन पुगे । चार दाजुभाइ र भाउजू गरी ८ मध्ये ७ जना त निजामती सेवामा नै कार्यरत रहेको भन्ने भुसालको भनाइ सुन्दा वास्तवमा मेहनतीलाई स्वदेशमा पनि अवसर छ भन्ने कुरा सत्य सावित हुन्छ । यस पटक जनप्रशासनका लागि केदार आचार्य र घरेलु तथा साना उद्योग कार्यालय लमजुङका कार्यालय प्रमुख तोपलाल भुसालबीचको कुराकानीः

    प्रदेशस्तरीय घरेलु तथा साना उद्योग कार्यालयबाट सर्वसाधारण जनताले पाउने सहयोगहरु के के हुन् ?
    प्रदेशअन्तर्गत जिल्लामा सञ्चालन हुने साना व्यवसायहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्छ । अहिले औद्योगिक व्यवसाय ऐन २०७६ ले १५ करोडसम्म पुँजी भएको उद्योगलाई साना उद्योगमा राखेको छ । तर त्यती पुँजीबराबरको उद्योग दर्ता गर्ने निर्देशन, परिपत्र हामिकहाँ आईपुगेको छैन। अहिले तीन करोडसम्म पुँजी भएका साना, लघु र घरेलु उद्योगहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर सञ्चालन गर्नुपर्छ । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दर्ता गर्ने मात्र होइन, उद्योग दर्तासँगसँगै नविकरण, खारेजी, पुँजी वृद्धि, ठाउँसारी, नामासारी, उद्देश्य परिवर्तन साथै उद्यमी सिर्जना गर्ने कार्य समेत यही कार्यालयले गर्दछ । उद्यमीले आवश्यकता महसुस गरेको मागको आधारमा तालिम पनि प्रदान गर्दछ । तालिमसँगसँगै प्रविधि पनि हस्तान्तरण गर्दछ । मानौं कुनै उद्यमीले सिलाइ कटाइको तालिम लियो भने त्यस्ता उद्यमीलाई सिलाइ मेसिन पनि प्रदान गर्दछ । कुनै उद्यमीले तीन महिना तालिम लिइसकेपछि घरेलु तथा साना उद्योग कार्यालयबाट ऊ मेसिन पनि लिएर आफ्नो कार्यक्षेत्रमा जान्छ । त्यतिमात्र होइन, त्यो उद्यमीले उत्पादन गरेका वस्तुहरुको बजार विस्तारमा सहयोग, माग–आपूर्तिको सहजता उद्योगीलाई पेसा–व्यवसायको बढोत्तरीलगायतको सहयोग घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्दछ ।

    अरु के–के सेवा प्रदान गर्दछ यसले ?
    घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दर्ता गर्ने मात्र होइन । बरु यसले सुरुमा उद्यमशीलता तालिम भन्ने हुन्छ, त्यो प्रदान गर्दछ । यो तालिमको समयावधि १० दिनको हुन्छ । यो १० दिनभित्र उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालयले दिने तालिमको फेहरिस्त बताइदिएको हुन्छ । त्यसपछि उद्यमीले मैले यस्तो किसिमको उद्योग गर्नुपर्ने रैछ, यो उद्योगबाट गरेको उत्पादनको बजार यस्तो हुँदै रैछ, यो उद्यममा लाग्दा यति लगानी गर्नुपर्ने रैछ, लगानीको प्रतिफल यसरी आउने रैछ भन्ने सस्यानो खालको खाका जसलाई हामी व्यवसायिक योजना भन्ने गर्दछौं, त्यो उसले आफ्नो दिमागमा बनाइसकेको हुन्छ । यही १० दिनभित्र उद्यमीले कुन किसिमको प्राविधिक सीप विकास तालिम लिन चाहन्छ भन्ने कुराको पनि यकीन हुन्छ । त्यसपछि उद्यमीले सर्वप्रथम सीप विकास तालिम लिन थाल्छ । तालिमबाट पूर्ण दक्ष भएपछि उद्यमी घरेलु तथा साना उद्योग कार्यालयमा आफ्नो उद्योग दर्ता गर्न आउँछ । हामीकहाँ तालिम नलिएकाहरुले पनि उद्योग दर्ता त गरेका हुन्छन् तर हाम्रो उद्देश्य भनेको उद्यमीले सबै कुराको जानकारी प्राप्त गरेपछि र उद्यमशील व्यक्ति आफैं सक्षम भएपछि मात्र उद्योग सञ्चालन गरोस् भन्ने हुन्छ । तालिमपछि व्यवसाय दर्ता ग¥यो व्यवसायीले भनेर त्यसै बस्दैन घरेलु तथा साना उद्योग कार्यालय, यसले नियमित उक्त उद्योगको निरीक्षण गर्छ, आफूले प्रदान गरेका मेशिनरी औजार (प्रविधि) जस्ता साधनहरु कसरी प्रयोग भएका छन्, उद्यमीले आफ्नो उद्योगको सञ्चालनबाट मुनाफा प्राप्त गरेको छ कि छैन ? मुनाफा कमाउन सकेन भने त्यसको कारण के हो यी यावत कुराहरुको निरीक्षण घरेलु तथा साना उद्योग कार्यालयबाट नियमित भइरहेको हुन्छ ।

    गत आ.व मा लमजुङ जिल्लामा घरेलु तथा साना उद्योगको अवस्थाचाहिँ कस्तो रह्यो?
    लमजुङमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह छन् । यी सबै तहहरुमा तालिम कार्यक्रमहरु सञ्चालन हुँदै थिए अघिल्लो वर्ष, तर बीचैमा कोरोना (कोविड–१९) को महामारीले गर्दा सञ्चालित तालिमहरुलाई हामीले पूर्णता प्रदान गर्न सकेनौं । एक त गतवर्ष हाम्रा तालिमका कार्यक्रमहरु केही ढिला सुरु भए, त्यही बीचमा लकडाउन सुरु भयो र लकडाउनका समयमा तालिम, सभा, गोष्ठीहरु केही पनि नगर्नको लागि निर्देशन आयो । पछि फेरि प्रदेश सरकारले बजेट पनि रोक्का गर्‍यो । त्यसपछि स्थानीय निकायसँग हामीले कार्यक्रम सञ्चालनको लागि सहमति लियौं तर बजेट फुकुवा नभएकाले तालिमका कार्यक्रमहरु नियमित सञ्चालन गर्न सकिएन । यसैगरि नेपाल सरकारको शसर्त अनुदान अन्तरगत गरिबि निबारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) जसले समुदायको गरिब वर्ग त्यसमा पनि दलित, जनजाति, महिला र युवा वर्गलाई लाभान्वित गर्ने उद्देश्यले व्यवसाय विकास सेवा प्रदायक संस्थाहरु मार्फत सञ्चालन हुने गरि उक्त संस्थाहरुसँग सम्झौता भई कार्यक्रम शुरु पनि गराईएको थियो तर कोरोनाका कारण यो कार्यक्रमले समेत पुर्णता पाउन सकेन ।

    स्थानीय निकाय र घरेलु तथा साना उद्योग कार्यालयबीच उद्यमी उत्पादन गर्ने सम्बन्धमा कस्तो समन्वय हुन्छ ?
    घरेलु तथा साना उद्योग कार्यालयले तालिम दिने व्यक्तिको छनोट स्थानीय निकायले गर्छ । जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा जिल्ला औद्योगिक प्रवद्र्धन समिति हुन्छ, त्यसले तालिम कार्यक्रमहरु कहाँ–कहाँ र कसरी सञ्चालन गर्ने निर्णय गर्छ । त्यसपछि हामीले स्थानीय निकायलाई सहभागी छनोट गरिदिनुहोस् भन्छौं । त्यसपछि जुन वडामा तालिम कार्यक्रम हुने हो त्यो वडाको अध्यक्ष को रोहबरमा तालिमका सहभागिहरु छनौट हुन्छन् । तालिम कार्यक्रमहरु उहाँहरुकै निगरानीमा सम्पन्न हुन्छ । स्थानिय तहसँग साझेदारीमा तालिम कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको खण्डमा प्रशिक्षक तालिम सामाग्री तथा खाजा खर्च एउटाले बेहोर्दछ भने तालिमका सहभागीको लागि आवश्यक मेशिन औजारलगायतका प्रविधिखर्च अर्कोले बेहोर्ने गरि तालिम सञ्चालन गर्न सकिन्छ । खासगरी स्थानिय तहले सीप विकास तथा रोजगार सिर्जना शीर्षकमा वार्षिक रुपमा बजेट विनियोजन गर्दै आइरहेको अवस्था छ । तर उहाँहरुसँग जनशक्तिको अभाव हुने भएकाले हामीसँग सेयर गरौं भन्नुहुन्छ । यसरी स्थानीय तहबाट विनियोजित बजेटसँग घरेलु कार्यालयको अनुभवलाई समन्वय गराएर काम गर्दा बढी प्रभावकारी हुन्छ ।

    सेवाग्राहीलाई सेवा दिन ढिला हुने, बिचौलियाबीना कामै नहुने भन्ने गुनासो पनि सुनिन्छ उद्योग दर्तामा त्यस्तो गुनासो यहाँ पनि हुन्छ ?
    यहाँ बिचौलीया कोही पनि हुँदैन । प्रक्रिया पुर्‍याएर आवश्यक कागजात सहितउद्यमी आएपछि ५ (पाँच) दिनभित्रमा उद्योग दर्ता गरेर दिनुपर्छ भनेर औद्योगिक व्यवसाय ऐन २०७६ मा उल्लेख छ । तर कागजात सबै पुर्‍याएर आएको उद्यमीलाई हामी पन्ध्रमिनेट भित्रमा उद्योग दर्ता प्रक्रिया समाप्त गरिदिन्छौं । यो कार्यालय पनि नयाँ स्थापना भएको कार्यालय हो र हाल हामीसँग कार्यरत सवैजनशक्ति युवा भएको कारणले गर्दा हामी मुस्कानसहितको छिटो सेवा उपलब्ध गराउँछौं ।

    लमजुङ जिल्लामा कस्तो खालको उद्यम सञ्चालन गर्न आकर्षित हुन्छन् उद्यमीहरुर संभावना के छ? यो एक वर्षको अवधिमा यहाँ कति उद्योग दर्ता भएका छन् त ?
    लमजुङमा खासगरी पर्यटन उद्योगमा उद्यमीहरुको आकर्षण देखिन्छ र संभावना पनि उत्तिकै छ । यहाँका सबै स्थानीय तहहरुमा होमस्टेहरु सञ्चालनमा रहेका छन् । लमजुङको घलेगाउँ भनेको एसियाकै उत्कृष्ट ठाउँ ‘स्मार्ट भिलेज’ भनेर चिनिएको गाउँ छ । लमजुङका धेरै गाउँहरुमा होमस्टे सञ्चालन गर्ने आन्तरिक र वाह्य पर्यटक आकर्षण गर्ने चाहना उद्यमीहरुको हुन्छ । अर्को अन्नपूर्ण पदमार्गको ‘स्टार्टिङ प्वाइन्ट’ पनि यही हो । त्यसैले भाद्र महिनादेखि यहाँ अति धेरै पर्यटकहरु आउँछन् । यसका अलावा कृषि पनि लमजुङको एउटा मुख्य पेसा हो, अलैंची यहाँको एउटा मुख्य उत्पादन हो नेपाल सरकारले लमजुङलाई ‘अलैंची पकेट जोन’ भनेर घोषणा नै गरेको छ । केराखेती पनि यहाँ प्रशस्त हुन्छ । पशुपालन व्यवसाय यहाँको मुख्य पेसा हो । आ.व ०७६।०७७ मा लमजुङ जिल्लामा ६६९ वटा उद्योग र ७६२ वटा वाणिज्य फर्म दर्ता भएका छन् ।

    यतिबेला वैदेशिक रोजगारीमा गएका जनशक्ति स्वदेश फर्किएका छन् । तिनीहरुलाई अब यतै उद्यमी बनाउने हो कि प्रकोपपछि फेरि तेस्रो मुलुक जाउ भन्ने हो ? त्यसको लागि यहाँहरुको के छ योजना ?
    आफ्नो मुलुकमा भएको जनशक्तिलाई फेरि विदेश जानुस त भन्नु नै हुँदैन । सम्भावना प्रशस्त यहीँ छ । त्यसको लागि बजेट पनि आएको छ । त्यसैले अब विदेशबाट रोजगारी गुमाएर स्वदेशमा फर्किएका जनशक्तिलाई तत्कालै प्रतिफल प्राप्त हुने किसिमको सीपमुलक तालिम प्रदान गरेररोजगार सिर्जना गर्ने हाम्रो योजना छ । तर वर्तमान परिस्थिति झन् बिग्रँदो भएकाले अझै के के हुन्छ अहिले नै निक्र्योल गर्न सकिन्न ।

    अन्त्यमा केही भन्न बाँकी छ ?
    हामीले भन्ने नै मानिसलाई बेरोजगार नबस्नुस्, उद्यमशील तालिम लिनुहोस् र उद्यमी बन्नुहोस् भन्ने हो । तर अहिले विश्व परिवेश नै त्यो अवस्थामा छैन । बरु हामी सबैले विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निर्देशनलाई व्यवहारमा अनुशरण गरौं, आफू सुरक्षित बसौं, अरुलाई पनि सुरक्षित बनाउने प्रयत्न गरौं भन्न चाहन्छु । – जनप्रशासन पाक्षिक