• अहिले विश्व कोरोना भाइरसबाट आक्रान्त छ । विश्वको आधा करोडभन्दा बढी जनसंख्या कोरोना संक्रमित भएको छ । नेपालमा पनि झण्डै तीन हजारको वरिपरि कोरोना संक्रमण फैलिसकेको छ । नचाहेर पनि दिनदिनै दुःखद खबर सुन्नु परिरहेको छ । सँगसँगै संक्रमणलाई परास्त गरेर स्वस्थ्य भई घर फर्किएको तथ्यले उत्साह पनि जगाएको छ । यस महामारीबाट मूक्ति पाउनका लागि विश्वव्यापी प्रयास सार्थक सावित भैसकेको छैन । विश्व स्वास्थ्य संगठनले संरक्षणात्मक र उपचारात्मक उपायहरुको लागि अभिभावकत्व ग्रहण गरिरहेको भए पनि निदानको प्रयास सार्थक सावित भइसकेको छैन । विश्वका वैज्ञानिकहरु अहोरात्र खटिरहँदा पनि शीघ्र उपचारको सुनिश्चितताका लागि विश्वस्त हुन सकेका छैनन् । आशा गर्नुपर्छ, यो विश्वव्यापी अथक प्रयास कुनै दिन अपेक्षित नतिजामा रुपान्तरण हुने नै छ ।

    विश्व महामारीमा प्राण जोगाउनु हरेक नागरिकको प्राथमिक दायित्व हुन्छ । भाइरस संक्रमणको खुला सम्भाव्यता रहने हुनाले जो कोही पनि यसको चपेटामा पर्न सक्छन् । तसर्थ यसबाट जोगिन अपनाउनु पर्ने उपायहरुको पूर्व सावधानी बढी विवेकसम्मत हुन्छ । संक्रमित भइसकेकाहरुका लागि भने प्रतिरोध क्षमता बढाउनु र आत्मवलको विकास गर्नु नै अचुक उपाय हो । यस्तो संवेदनशील परिस्थितिमा शारीरिक तन्दुरुस्तीका उपायहरुका साथै मानसिक सवलताको बढी खाँचो हुन्छ । विश्वभरि नै सन्त्रास फैलिरहँदा स्वस्थ शरीर र उच्च आत्मवलको आवश्यकता जो कोहीलाई पनि छ ।

    आत्मवलअन्तर्यमा निहित क्षमता हो यो क्षमता जीवन शैली, दर्शन, धर्म, संस्कृति र मूल्य मान्यतामा आधारित हुन्छन् । हामी नेपाली पूर्वीय दर्शनका अनुयायी भएकाले यो विश्व महामारीको चुनौतिलाई परास्त गर्न सक्ने दीगो आत्मवल हामीले जागृत गर्नुपर्छ । संस्कृतिविद्हरुले हालको यो संक्रमणलाई अल्पकालीन प्राकृतिक चेतावनीको संज्ञा दिएका छन् । यो विशिष्ट प्रतिकूल परिस्थितिमा हामीले धैर्यतालाई धर्मराउ नदिनु हुन्न । हामीले आत्म–अनुशासनमा बाँधिई विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेका एवं सरकारका घोषित निर्देशनहरु वैज्ञानिक र व्यावहारिक उपायहरु अवलम्बन गर्नुपर्दछ । यसका अतिरिक्त मूलतःपूर्वीय दर्शन, धर्म, संस्कृति र योगाभ्यासका आधारभूत पक्षहरुमाथि विचरण गरी विश्वसुधा जीवनदृष्टि पूज्ज्वलित गर्नुछ ।

    पूर्वीय दर्शनका आधारभूतपक्ष
    नेपाल आदिकालदेखि नै पुण्य भूमिका रुपमा रहेको कुरा निर्विवाद छ । ऐतिहासिक नगरी मिथिला जनकपुरले त्रेतायुगको संस्मरण गराउँछ भने विराटनगर क्षेत्रले द्वापर युगको । महान तीर्थस्थल लुम्बिनी, कपिलवस्तु, करिब २५०० वर्ष अघिको भगवान गौतम वुद्धको जन्म र कर्मसँग जोडिएको तथ्य खुला किताब जस्तै छ ।

    प्राचिनकालिन नेपाल ऋषिमहर्षिहरुको तपोवनहो । महर्षिहरु मार्कण्डेयको दार्चुला, अत्रि अनुसुभाको बझाङ्ग, वृहस्पतिको बाजुरा, भारद्वाजको कालिकोट, गौतमको जुम्ला, जैमिनिको दैलेख, लोमशको मुगु, माण्डव्यको पाल्पा, दुर्वाशाको अर्घाखाँची, द्यौम्य र वेदव्यासको तनहुँ, वाल्मिकीको त्रिवेणी चितवन, नेमुनिको काठमाडौं, विश्वामित्रको कोशी आदि साधना केन्द्रको रुपमा सुपरिचित छन् ।

    कठोर जप र तपस्यामार्फत् सिद्धि हासिल गरेर संसारलाई लोक कल्याणको पथप्रदर्शन गर्ने महान् ऋषिमहर्षिहरु पूर्वीय दर्शन, संस्कृति र सभ्यताका अमूल्य निधि हुन् । पूर्वीय दर्शनको उद्गम स्रोत वैदिक शास्त्र हो । वेद प्राचिन शास्त्र हो । वेद मूलतः विद् अर्थात् मूल ज्ञान हो । चारवटा वेदहरु ऋगवेद, यजुर्वेद र अथर्ववेद सारा ब्रम्हाण्ड, सृष्टि र चराचर जगतको आधारभूत मार्ग दर्शनका लागि कालजयी छन् । सम्पूर्ण मानव समुदायमा ऋग वेदले प्रेम, स्नेह र सम्मानको अभिव्यक्ति अर्थात् सबैप्रति प्रेमभाव, यजुर्वेदले सुविचारद्वारा उच्च कोटि कर्मको प्रेरणा, आन्तरिक तेजवृद्धि एवं प्राण रक्षा, सामवेदले संगीत एवं विश्व शान्तिको मार्ग र अथर्व वेदले स्थिरता, समान व्यवस्था, वैश्विक एकताको गुरु मन्त्र प्रवाहित गर्दै समुच्चयमा शास्वत सत्यको प्राप्ति अर्थात् परमानन्दको मार्गमा अभिप्रेरित गरिरहन्छन् ।

    पूर्वीय दर्शन एवं र्सस्कृतिको मूल धरोहर नै वैदिक वाङमय हो । यसमा चारवटा उपवेदहरु, अठार वटा पुराणहरु, उपनिषद, गीता, रामायण, महाभारत, कौटिल्य शास्त्र, नीतिसार, महाभाष्य, संहिता, स्मृति कौस्तुभ, निर्णय सिन्धु, आदि जस्ता विविध वाङ्मयले मानव जातिको वृहत्तर कल्याणको लागि थपप्रदर्शन गर्छन् । यिनलाई उजागर गर्ने आस्तिकवादी दर्शनहरुमा न्याय, मीमांशा, साङ्ख्य, योग, वैशेषिक तथा वेदान्त र नास्तिकवादी दर्शनहरु चरवाक, वौद्ध र जैन रहेका छन् ।

    पूर्वीय दर्शनले मूलतः जन्म के हो ? मृत्यु के हो ?आत्मा के हो ? परमात्मा के हो ? व्रम्ह के हो ? जगत के हो ? सुख के हो ? दुःख के हो ? मोक्ष के हो ? शास्वत सत्य के हो ? आदिबारे दिव्य दृष्टिकोण प्रस्तुत गरेको छ ।

    सामान्यतया आत्मा र परमात्माको विषयलाई हाम्रो अहंले स्वीकारोक्ति दिइरहेको हुँदैन । तर जब मेरो शरीर के हो ? म के हो ? यी दुई अनुभूतगर्न सकिने विभेद पर्गेल्नतिर लाग्यौँ भने हामीलाई उपर्युक्त अवधारणा अनुमोदन गर्न वाध्यता आइलाग्छ । पञ्च महाभूत पृथ्वी, जल, वायु, अग्नि र आकाशबाट निर्मित शरीरलाई जब यसमा अन्तर्निहित मुख्य शक्ति प्राणले त्याग गर्छ । तब शरीर बाँकी रहन्छ । त्यो प्राणरहित शरीर तिनै पञ्च महाभूतमा विलय हुन्छ । यसरी शरीर, शरीरको सञ्चालक (प्राण) (आत्मा) र यिनलाई पनि सञ्चालन गर्ने अर्को महाशक्ति (परमात्मा) हुनुपर्छ भनेर अनुमान लगाउन वैज्ञानिक नै हुनुपर्छ भन्ने छैन । यसरी साधारण व्यक्तिको लाटो ज्ञानले पनि शरीर, आत्मा र परमात्माको व्यावहारिक ज्ञान सहजै ग्रहण गर्न सक्छ । अझ वैज्ञानिक सिद्धान्तका आधारमा पनि पुष्टि गर्न सकिन्छ । विज्ञानले भन्छः शक्ति न त निर्माण गर्न सकिन्छ न त विनाश नै, यो त एक रुपबाट अर्को रुपमा रुपान्तरणमात्र हुने गर्छ । यही कुरा आत्मामा पनि लागू हुन्छ । वस्तुतः आत्मालाई न त अस्त्रले खण्डित गर्न सक्छ, न त आगोले जलाउन, न त पानीले बगाउन सक्छ । यो अविनाशी छ र मात्र रुपान्तरण भइरहन्छ ।

    पूर्वीय दर्शनको व्यावहारिक पक्ष
    पूर्वीय वाङ्मयको सार वेद हो । वोदको सार उपनिषद् हो । उपनिषदको सार गीता हो । गीताको सार व्रह्म प्राप्ति हो । व्रम्ह प्राप्तिको मार्ग निष्काम भावले आफ्नो कर्म गर्नु हो । अर्थात् सरलीकृतरुपमा भन्नुपर्दा आफ्नो–आफ्नो धर्म पालना हो । पृथवीको मूल गुण गन्ध, पानीको मूल गुण शीतलता, अग्निको मूल गुण तेज हो । पूर्वीय दर्शनमा आत्मअनुशासन, आचरण एवं नैतिकता प्रदर्शन नै धर्म हो । वैदिक परम्परामा धृति, क्षम, दम, अस्तेय, शौष, इन्द्रिय निग्रह, धीः (ज्ञान), विद्या सत्य र अक्रोध धर्मका दशवटा पक्ष मानिएका छन् । जुन सदैव अनुकरणीय छन् ।

    आफ्नो कर्तव्य निष्ठापूर्वक पूरा गर्नु नै धर्म हो । विद्यार्थीले आत्मअनुशासनमा रही अध्ययन गर्नु धर्म हो । शिक्षकले पेशागत निष्ठासहित अध्यापन कार्य गर्नु, कर्मचारीले सदाचारी भई सेवा प्रवाह गर्नु, राजनीतिज्ञले निस्वार्थ समाज सेवागर्नु, शासकले नागरिक चाहनाअनुरुप सुशासन गर्नु, यी सबै धर्म हुन् । त्यहिभएर व्यक्तिले जीवनमा धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ मार्फत् ज्ञान, कर्म र भक्तिलाई सार्थक पार्न सक्छन् ।

    अब प्रश्न उठ्छ, के हामीले आफ्नो धर्म अर्थात् मूल गुण पालन गरिरहेका छौँ त ? यस प्रश्नको उत्तर म मभनेर खोज्नुपर्ने हुन्छ । तर प्रकृति संयमसाथ अनवरत चलिरहेको छ । एकैछिन परिकल्पना गरौँ, यदि सूर्यले पूर्वबाट उदाउन छोडिदिए के होला ? वादलले पानी होइन ढुंगा वर्षाउन थाले के होला ? वायु मण्डलबाट वायु उडेर गए के होला ? माटोले बोटविरुवा हुर्काउन छोडे के होला ? एउटा सुक्ष्म भाइरसले त विश्वमा तहल्का मच्चाएको छ भने प्रकृति रुष्ट भयो भने । अर्थात् प्रकृतिले पनि धर्म छोड्दै गए के होला ?

    अन्त्यमा,
    ब्रम्हाण्ड, प्रकृति र सारा चराचर जगतको आधारस्तम्भ पूर्वीय दर्शन हो । जसभित्र अध्यात्म र समस्त विज्ञान समाहित छ तर आफ्नो दर्शन, धर्म, संस्कृति रसनातनी परम्परालाई रुढीवादी मान्दै संकीर्ण आधुनिकताको खोजीमा भौँतारिनुले हामी कहीँकतै विनाको खोजीमा कस्तुरी जस्ता त भएका छैनौँ ? आत्मसमीक्षा गर्नुपर्ने देखिएको छ । अतःप्राच्यदर्शन, धर्म र संस्कृतिप्रतिको पुनर्विचार, पुनर्विश्वास, पुनर्विस्तारमा लाग्नुपर्ने वेला त आएको होइन, हो, यसबेला संस्कृतविद्हरुले उद्घोष गरेजस्तो प्रकृतिको आंशिक प्राकृतिक चेतावनीले पूर्वीय दर्शन, धर्म र संस्कृतिको पुनर्जागरणको आत्मवोध गराएको छ ।