• बागलुङ । बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाकोे पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौँ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् ।

    उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गरेकी छिन् । “सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ”, सापकोटाले भनिन्, “कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे ।” उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लगेकोभन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिइन् ।

    “चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन”, उनले अनुभव सुनाइन् । “२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।” अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत दिइन् । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरेकी थिइन् । सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरिन् । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताएकी थिइन् ।

    छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए ।

    २८ दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी थिइन् । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको उनको भनाइ छ । अस्पताल बसाइमा उनले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । युवतीलाई नेपाल रेडक्रस सोसाइटीकोे एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पुर्‍याएको थियो ।

    युवतीको अवस्था सामान्य भए पनि यसअघिको चार स्वाब रिपोर्ट कोरोना सङ्क्रमण अर्थात् पोजेटिभ रिपोर्ट आएको थियो । युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन् । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसै सातामात्रै नेपालको छैटौँ तथा जिल्लाको दोस्रो सङ्क्रमित बानपा–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किसकेकी छिन् । रासस