

-
काठमाडौँ । काठमाडौँ उपत्यकामा विदेशबाट फर्किएपछि दुई साता क्वारेन्टाइन बसेर ढुक्क भएका व्यक्ति गत सोमबार ‘सनसिटी अर्पाटमेन्ट’ मा सङ्क्रमित भेटिएपछि आफूमा पनि सङ्क्रमण छ कि भन्दै परीक्षण गराउन थालेका छन् । पहिले वडा कार्यालयले सम्पर्क गरेर बोलाउँदासमेत स्वास्थ्य परीक्षण गर्न नचाहनेहरु अहिले आफैँ परीक्षण गर्नुपर्यो भन्दै आउन थालेको उपत्यकाका नगरपालिकाले जनाएका छन् । सनसिटी अर्पाटमेन्टमा बसोबास गर्दै आएका दुई व्यक्तिमा विदेशबाट फर्किएको झण्डै एक महिना पछि सङ्क्रमण देखिएकाले विदेशबाट फर्किएकाहरु परीक्षणका लागि नजिकैका स्वास्थ्य संस्था वा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका हुन् । पहिले विदेशबाट फर्किएकाहरु आफूमा कुनै स्वास्थ्य समस्या नदेखिँदा ढुक्क हुन्थे तर पछिल्ला सङ्क्रमित दुईमा कुनै स्वास्थ्य समस्या नहुँदा पनि सङ्क्रमण देखिएकाले विदेशबाट फर्किएकाहरु परीक्षणका लागि आइरहेका छन् ।
कोभिड–१९ को हब अस्पतालका रुपमा रहेको शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गत साताभन्दा यो साता परीक्षणका लागि आउनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । गत साता दैनिक झण्डै २०/२५ व्यक्ति परीक्षणका लागि आएकामा तीन दिन यता यो सङ्ख्या दैनिक ६० को हाराहारीमा छ । बुधबार ५९ र बिहिबार ६० जनाले स्वाब परीक्षण गरिएको अस्पतालले जनाएको छ । शुक्रबार बिहानैदेखि स्वाब परीक्षणका लागि धेरै जना आइरहेको अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले बताए । कुनै पनि व्यक्ति घरमै क्वारेन्टाइनमा बस्दा पनि उसलाई समाजले हेलाका दृष्टिले हेरेकाले पनि ऊ परीक्षण गर्न आइरहेको उनको भनाइ छ । उनले भने, “फलानो त विदेशबाट आएको को हो के हो भन्ने कुराले गर्दा पनि परीक्षणका लागि आइरहेको पाइन्छ ।”
पहिले धेरैले परीक्षण गर्न नचाहेपनि अहिले आफ्नै नगर भित्रै सङ्क्रमण पुष्टी भएपछि कागेश्वरी मनोहरा नगरपालिकामा परीक्षण गर्न चाहनेको सङ्ख्या बढ्दो छ । पहिले विमानस्थलमा स्वास्थ्य परीक्षण भइसकेको भनी घरमा ढुक्क बसिरहेका व्यक्ति १४ दिन कटिसकेकाले आफूमा रोगको सङ्क्रमण छैन भनी ढुक्क देखिएको नगर प्रमुख कृष्णहरी थापाले बताए । त्यतिबेला नगरपालिकाले बोलाउँदा समेत परीक्षणका लागि आउन गाह्रो मानेपनि अहिले उनीहरु आफैँ परीक्षण गर्न चाहेका छन् । उनले भने, “विदेशबाट फर्किएको २८ दिन पनि सङक्रमण देखिएकाले आफूलाई पनि देखिन सक्छ भनी उनीहरु सचेत भएका हुन् ।”
नगरपालिकाले पहिले सबै वडामा चैत महिनामा विदेशबाट फर्किएकाको विवरण सङ्कन गरेको थियो । त्यतिबेला नगरभरमा जम्मा ६१ जना रहेको देखिएपनि नगर अस्पतालले सोमबार र मङ्गलबार गरेको परीक्षणमा ८६ जनाले परीक्षण गराएको प्रमुख थापाले बताए । अहिले ‘म पनि विदेशबाट आएको हो, परीक्षण भएको छैन’ भन्ने व्यक्तिहरु थपिएको उनले बताए । परीक्षण गराउन चाहनेको सङ्ख्या बढेकैले नगरपालिकाले फेरि पनि छुटेकाहरुको विवरण सङ्कलन गर्न लागेको छ । स्वास्थ्य सेवा विभागले यहाँको नगर अस्पताललाई थप २०० किट उपलब्ध गराएको छ । अर्पाटमेन्टकै अरु ब्लक र त्यहाँ नजिककैका व्यक्तिले समेत परीक्षणको माग गरेकाले नगरपालिकाले विभागसँग एक हजार ५०० सय किट माग गरेको छ । उनले भने, “सकेसम्म विदेशबाट आएका र सङ्क्रमित दुई जनाको सम्पर्कमा रहेका कसैलाई नछुट्ने गरी सबैको परीक्षण गर्ने हाम्रो तयारी छ ।”
काठमाडौँ उपत्यकाको सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ महानगरपालिकाले पनि दुई साता पहिले नै विदेशबाट गत महिना फर्किएकाको विवरण सङ्कलन गरेको थियो । सो समयमा झण्डै एक सय जनाको मात्रै पहिचान भएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । अहिले दुई दिनमा त्योभन्दा दोब्बरले परीक्षण गरिसकेका छन् । अहिले पनि विभिन्न वडामा बस्दै आएका व्यक्तिहरुले परीक्षण गर्नुपर्यो भन्दै माग गरिरहेका छन् । पहिले परीक्षणका लागि आउन नचाहेपनि अहिले परीक्षण हाम्रो वडामा किन नगरेको भन्दै अध्यक्षलगायत प्रतिनिधिलाई सम्पर्क गर्ने गरेको उनको भनाइ छ । उनले भने, “अहिले विदेशबाट फर्किएका अधिकांश व्यक्ति परीक्षणका लागि आइरहेका छन् ।”
ललितपुर महानगरपालिकामा पनि र्यापिड टेस्ट गराउन चाहनेको सङ्ख्या बढीरहेको महानगरले जनाएको छ । पहिले २९ वटै वडामा गरिएको विवरण सङ्कलनमा १०८ जना मात्रै चैत महिनामा विदेशबाट फर्किएको पाइएको थियो । मङ्गलबार र बुधबार गरिएको परीक्षणमा भने झण्डै २५० जनाले परीक्षण गरिसकेका छन् । महानगरपालिकाले आज पनि छुटेकाहरुको परीक्षण गर्दैछ । पहिले विदेशबाट आएको मान्छे परीक्षणका लागि आउन नचाहेपछि उपत्यकामा नै सङ्क्रमण देखिएपछि परीक्षणका लागि आउन थालेका हुन् । उनले भने, “हामीले पनि छुटेका कोको हुनुहुन्छ भनी विवरण सङ्कलन गरिरहेका छौँ ।”
News Desk 0 response शुक्रबार, बैशाख ५, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



