

-
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको सीमा जोडिएको देशमा कोभिड–१९ फैलिएकाले विश्व स्वास्थ्य सङ्गठनले जोखिम देशको सूचीमा नेपाललाई पनि राखेको छ । त्यसैले अहिले सरकारले सम्भावित जोखिम क्षेत्र पहिचान गरी रोकथामका उपाय अवलम्बन गर्दै निगरानी बढाइरहेको छ । विश्वमै यसको औषधि पत्ता लागेको छैन ।
केही दिनअघि मात्रै केही स्थानीय तहबाटै विज्ञप्ति जारी गरेरै कोरोनाको औषधि भनेर अनावश्यक प्रचार भएको थियो । सामाजिक सञ्जाल र कतिपय अनलाइन मिडियामा खुर्सानी, लसुन, बेसार, अल्कोहलले कोरोना निको पार्छ भनेर अफवाह फैलाइरहेकाले सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक हुने सूचनालाई मात्रै आधिकारिक मान्न अनुरोध गर्दै आएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो, “रोग लागेर एकजना मर्छ भने गलत सूचनाले दुईजना मर्न सक्छ, गलत सूचनाले सामाजिक मनोविज्ञानमा पार्ने असर झन् कति ठूलो होला, यसतर्फ हामी सबै सचेत हुनुपर्छ ।” सूचना नपाउँदा पनि समस्या हुन्छ भन्नेमा सरकार सतर्क रहेको उहाँले बताउनुभयो ।
शुरुमा उहानबाट आएका एक नेपालीमा सङ्क्रमण देखिँदा पहिले नेपालका मिडियाबाट सार्वजनिक गरेर विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको दृष्टान्त प्रस्तुत गर्दै श्रेष्ठले सरकार सूचना प्रवाहमा कुनै हिचकिचाहट गर्दैन भन्ने कुरा उक्त घटनाले पुष्टि गर्ने बताउनुभयो । “हामी सूचना दिन कञ्जुस्याइँ गर्दैनौँ, तर सञ्चारमाध्यमले आधिकारिक सूचना मात्रै प्रयोग गर्नुपर्यो”, उहाँले थप्नुभयो । कोरोनाको सङ्क्रमण हुनसक्ने स्थान खेजीखोजी अनुसन्धान र परीक्षणको दायरामा ल्याउने काम जारी रहेको श्रेष्ठले बताउनुभयो ।
आज मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विज्ञ र पत्रकारबीच आधिकारिक सूचना प्रवाह गर्ने विषयमा गम्भीर छलफल भएको थियो । उठेका जिज्ञासा मेटाउने क्रममा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा हेमन्त ओझाले खुर्सानी, बेसार र लसुन खाएर निको हुन्छ भन्ने हल्लाको पछि नलाग्न र त्यसको प्रचारप्रसार नगर्न अनुरोध गर्नुभयो । “यी सबै बजारका हल्लाहरु हुन्, त्यसको पछाडि नलागौँ, स्वास्थ्य मन्त्रालय र विश्वस्वास्थ्य सङ्गठनको आधिकारिक जानकारीमा ध्यान दिऔँ”, डा ओझाले भन्नुभयो ।
उहाँले लसुन र बेसार खाँदा स्वास्थ्यलाई राम्रो नै हुने भए पनि कोरोनासँग त्यसको कुनै सम्बन्ध नरहेको प्रस्ट्याउनुुभयो । डा ओझाले विश्वमा भाइरस रोकथाम गर्ने औषधि नभएको र एन्टिबायोटिकले समेत नरोक्ने भाइरसलाई अल्कोहल छर्केर, पिएर सर्दैन भन्नुु गलत हो भन्नुभयो ।
उहाँले मास्कले मात्रै रोग निको हुन्छ भन्ने भ्रम फैलिएको भन्दै मास्क सर्वेसर्वा नभएको समेत बताउनुभयो । “बिरामी र उपचारमा संलग्न चिकित्सकले मास्क लगाउनुपर्छ, सामान्य मानिसले मास्क लगाइरहन जरुरी छैन, हावामा नफैलिने भएकाले निश्चित दूरी व्यवस्थापन गर्न सकियो भने रोगबाट जोगिन सकिन्छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार बिरामीले खोक्दा, हाच्छिउँ गर्दा वा उसले प्रयोग गरेको वस्तु प्रयोग गर्दा सर्ने जोखिम हुन्छ । त्यसमा सावधानी अपनाउने र मिचीमिची साबुनपानीले हात धुने, स्यानिटाइजेशन गर्दा रोगबाट बच्न सकिन्छ । माछामासु राम्ररी पकाएर खाने, पशुपक्षीको असुरक्षित सम्पर्कबाट टाढा रहने गर्दा रोगबाट बच्न सकिन्छ ।
कोरोनाको मुख्य लक्ष्यण भनेको ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वास समस्या हुनु हो । यो रोग दुई दिनको बच्चादेखि १०० वर्षको मानिसमा समेत देखिएको छ । अन्य रोगको सङ्क्रमण भएका वृद्धवृद्धामा मृत्युदर बढी छ । अन्य रोगभन्दा सङ्क्रमणदर बढी र मृत्युदर कम भएको रोग कोभिड–१९ हो । दश वर्षभन्दा तलकामा मृत्युदर नभएको जनाइएको छ । नेपालको जस्तै वातावरण भएको देशमा समेत देखिएकाले मुलुकमा पनि आउन सक्ने सम्भावना रहेकाले पहिले त आफैँ सावधानी अपनाउन जरुरी रहेको चिकित्सकले बताएका छन् ।
स्वास्थ्य सेवा विभागले पहिलेभन्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित गरी निगरानी बढाएको र मुलुकका आन्तरिक विमानस्थलमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरेर परीक्षण थालिसकिएको जनाएको छ । भारतमा समेत कोरोनाको सङ्क्रमण देखिएकाले स्थलमार्गबाट रोगको सङ्क्रमण भित्रिन सक्ने भन्दै सरकारले विभिन्न ४१ वटा नाकामा हेल्थ डेस्क स्थापना गरिरकेको छ ।
सरकारले अब एकदुई दिनभित्रैमा कल सेन्टर स्थापना गर्न लागेको छ । देशभरिबाट आउने समस्यालाई तत्कालै ‘एक्सन’ गर्न सक्ने गरी काम गर्न लागिएको छ । सरकारले अन्य देशमा फैलिएको सङ्क्रमण र त्यसको उपचार तथा रोकथाममा गरेको प्रयासका आधारमा नेपालमा आवश्यक तयारी गरिएको जनाएको छ । आवश्यक मात्रामा आइसोलेशन वार्ड स्थापना गरिएको छ । सातैवटा प्रदेश सरकार पनि उच्च सतर्कतामा रहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले अहिलेसम्म नेपाल सुरक्षित रहेकाले त्यसरी नै सही सूचना जनमानसमा जानुपर्नेमा जोड दिनुभयो ।
सन् २०१९ को डिसेम्बर ३१ मा चीनको उहान प्रान्तमा देखिएको कोभिड–१९ हालसम्म त्यहाँको ३४ प्रान्तमा फैलिसकेको छ । त्यसमध्ये ९४ प्रतिशत सङ्क्रमण उहानमा छ । अहिले चीनको सङ्क्रमणदर न्यून भएको छ । कोरोना सन् २००२ बाट देखापरेको थियो । अहिलेको कोरोना सातौँ प्रजातिको हो । सन् २००२ मा सार्स कोरोना पत्ता लागेको थियो । त्यो बेला बिरालोबाट मानिसमा सरेको थियो । सन् २०१२ मा मार्स कोरोना ऊँटबाट मानिसमा सरेको पत्ता लागेको थियो । सन् २०१८ मा निप्स कोरोना आयो । यो पटकको कोभिड–१९ चाहिँ जनावरबाट सरेको बताइए पनि कुन जनावरबाट हो भनेर पुष्टि भएको छैन ।
चीनमा हालै १७ हजार १८५ बिरामीमा गरिएको एक अध्ययनमा ८२ प्रतिशत सामान्य लक्षण, १५ प्रतिशतमा कडा र तीन प्रतिशतमा मात्रै जटिल खालको कोरोना सङ्क्रमण भएको पत्ता लागेको थियो । सङ्क्रमणदर धेरै भए पनि जटिल सङ्क्रमण भने न्यून हुने उक्त अध्ययनले पुष्टि गरेको छ । कोरोना भाइरस वातावरणमा लामो समय नबाँच्ने र पानीबाट पनि नआउने चिकित्सकले बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका ११३ देशमा एक लाख १८ हजारमा रोगको सङ्क्रमण भएको छ । चार हजार २९० को मृत्यु भएको छ । बिरामीमध्ये ६६ हजारभन्दा बढी उपचारपछि घर फर्किसकेका छन् । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२