• दमौली । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको शहीद स्मारकमा आज माल्यार्पण गर्नुभएको छ । शहीद दिवसका अवसरमा बन्दीपुरका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएका उहाँले शहीद स्मारक बाटिकामा रहेको शहीदको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

    सो क्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शहीदको योगदानलाई भुल्न नहुने बताउनुभयो । उहाँले नेपालको विभिन्न आन्दोलनका क्रममा शहीदले पु¥याएको योगदानले नै नेपाल आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै शहीदको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सोही अवसरमा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पनि शहीद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । शहीद स्मारकमा विसं २००७ का क्रान्तिमा राणाको गोलीबाट मारिएका छ शहीदको शालिक निर्माण गरिएको छ । रासस