• जाडो मौसममा शरीरका जोर्नीहरु कक्रक्क पर्ने, सुन्निने अनि दुख्ने समस्या हामीमध्ये कतिपयले भोगेका छौं भने धेरैजसोले देखेका, सुनेका छौं । यहाँ यो समस्यासम्बन्धी केही महत्वपूर्ण जानकारीहरु प्रस्तुत गरिएको छ ।

    जोर्नीका प्रकारहरुः
    शरीरमा मोटामोटी दुई किसिमका जोर्नीहरु हुन्छन् : साना र ठुला । साना जोर्नीहरुमध्ये हात र खुट्टाका औंलाका जोर्नीहरु पर्दछन् । ठूला जोर्नीहरुमध्ये घुँडा, गोलीगाँठा, कुमका जोर्नीहरु पर्दछन् । ठूला र साना जोर्नीहरुमा लाग्ने रोगका प्रकारहरु अलग–अलग हुन्छन् । ठूला जोर्नीहरुमा कुर्कुरे हड्डी खिइने समस्या देखिन्छ भने साना जोर्नीहरुमा बाथ ( Rheumatoid Arthritis ), युरिक एसिड बढ्ने अवस्था (गाउट) प्रायः देखिन्छ । यी मध्य बाथ भन्ने रोगले जाडोयाममा जोर्नी दुख्ने समस्या निम्त्याउँछ ।

    जाडोमा जोर्नी दुख्ने समस्या (बाथ रोग)
    बाथ रोगलाई अंग्रेजीमा (Rheumatoid Arthritis) पनि भनिन्छ यो रोगले हात र खुट्टाका औंलाका जोर्नीहरुलाई असर गर्छ ।

    (क) रोगका लक्षणहरुः
    – दुवै हातका औंलाका जोर्नीहरुमा असर देखिने ।
    – औंलाको माथिल्लो जोर्नी (टुप्पोको नभएर) सुन्निने र दुख्ने ।
    – बिहान कम्तिमा आधा घण्टा औंलाका जोर्नीहरु कक्रक्क पर्ने ।
    – कम्तिमा डेढ महिनासम्म यो समस्या लम्बिरहेमा ।
    – हड्डीको बाहिरी भागमा गाँठाहरु देखिएमा ।

    (ख) रोग पत्ता लगाउने विधिहरुः
    – माथि उल्लेखित लक्षणहरु (सुरुको पाँच वटा)
    – रगत परिक्षण ः RF (Rheumatoid Factor) र Anti-CCP लाई विशेष जाँच मानिन्छ ।
    – एक्स रेमा जोर्नी वरिपरिको हड्डी पातलो देखिने (अर्थात घनत्व कम हुने) ।

    चिसो र बाथको सम्बन्ध
    चिसो मौसममा र प्रायः जाडो भइरहने ठाउँहरुमा बाथको रोग धेरै देखिने भए पनि चिसो र बाथबीच ठोस सम्बन्ध छ वा छैन भन्ने कुरा विज्ञानले प्रमाणित गर्न सकेको छैन । तर मानिसको कोषिकाको जीनसँग भने यो रोगको सम्बन्ध अवस्य छ ।

    के यो रोग निको हुन्छ ?

    यो रोग धरैजसोमा पूर्ण रुपमा निको नै भनेचाहिँ हुँदैन । उपचार नगरेको खण्डमा पनि १० प्रतिशत बिरामीलाई सुधार हुन्छ, ६० प्रतिशत बिरामीलाई सुधार हुने र बल्झिने क्रम चलिरहन्छ, २० प्रतिशत बिरामीको जोर्नी खिइँदै जान्छ भने बाँकी १० प्रतिशत बिरामी कुँजो हुन्छन् ।

    रोगको उपचार
    यो रोग पूर्णरुपमा रोकथाम गर्ने उपाय नभए पनि उपचार गर्ने विधिहरु भने ३ तरिका छन्ः
    औषधीः यसमा विभिन्नखाले औषधीहरु सेवन गर्न सकिन्छ । जस्तै हप्तामा एक पटक सेवन गर्ने (मिथोट्रिक्सेट), दैनिक सेवन गर्ने (लेफ्लुनामाइड, सल्फासालाजिन आदि) । कहिलेकाहिँ स्टिरोइड समूहको औषधी पनि सेवन गर्नुपर्ने हुन सक्छ ।

    फिजियोथेरापीः औंलाहरु बाङ्गो हुन नदिन सपोर्ट (स्पिलिन्ट) को प्रयोग गर्नुपर्ने हुन सक्छ ।

    शल्यक्रियाः औंलाहरु धेरै नै बाङ्गगो भएको अवस्थामा शल्यक्रिया नै गर्नुपर्ने पनि अवस्था आउन सक्छ ।

    लेखक भरतपुर अस्पतालमा कार्यरत हाड तथा नशा रोग विशेषज्ञ हुन्